राष्ट्रपति भण्डारीबाट नागरिकता विधेयक दोस्रो पटक प्रमाणिकरण गर्न अस्वीकार

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट पारित भएको नागरिकता विधेयक दोस्रो पटक पनि प्रमाणीकरण गर्न अस्वीकार गरेकी छिन् । विधेयक प्रमाणिकरण सम्बन्धी संविधानको धारा ११३ मा रहेको १५ दिनको हदम्याद मंगलबार मध्यरातबाट समाप्त भएको छ। संवैधानिक कानुनका विज्ञहरुले संवैधानिक राष्ट्रपतिको यो कदमले संविधानको उल्लंघन भएको बताएका छन् । संसद्बाट पारित भएर दोस्रोपटक आएको विधेयकलाई १५ दिन भित्र प्रमाणीकरण गर्नै पर्ने संवैधानिक दायित्वबाट राष्ट्रपति भण्डारी पछि हटेकी हुन् । उनको यो कदमले नयाँ खालको संवैधानिक र कानूनी प्रश्न खडा भएको छ ।
पहिलो पटक प्रमाणीकरणका लागि पेस भएको विधेयक संसदलाई सुझाव सहित पुनर्विचार गर्नका लागि फर्काएपछि संसद्ले दोस्रोपटक पारित गरी राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पेस गरेको थियो ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट दोस्रोपटक पारित भएको विधेयक सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पेस भएको थियो ।
संविधानको धारा ११३ मा विधेयक प्रमाणीकरणको विधिबारे व्यवस्था छ । जहाँ राष्ट्रपतिसमक्ष पेस गरिने विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ । प्रमाणीकरणका लागि पेस भएको अर्थ विधेयक (बजेट बाहेक) पुनर्विचार हुनु आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा त्यस्तो विधेयक पेस भएको १५ दिनभित्र राष्ट्रपतिले सन्देश सहित उत्पत्ति भएको सदनमा फिर्ता पठाउन सक्ने व्यवस्था छ ।
नागरिकता विधेयक राष्ट्रपतिले पुनर्विचार गर्न आवश्यक ठानेर गत साउन २९ गते प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । उक्त सन्देशसहितको विधेयकमाथि प्रतिनिधिसभामा छलफल भएर जस्ताको तस्तै पारित भएको थियो । राष्ट्रिय सभाले भने विधायन व्यवस्थापन समितिमा पठाएर छलफल गरेको थियो । समिति र सभाको बैठकमा छलफलपछि संघीय संसद्को माथिल्लो सदनले पनि नागरिकता विधेयकलाई जस्ताको तस्तै पारित गरेको थियो । दुवैपटक नागरिकता विधेयक बहुमतले पारित भएको थियो ।
राष्ट्रपति भण्डारीले साउन २९ मा नागरिकता विधेयक संसद्मा नै फिर्ता गर्दा लेखेको सन्देशमा वैवाहिक अंगीकृत नागरिकता विधेयकको व्यवस्था, प्रादेशिक पहिचान तथा आमाको नामबाट नागरिकता जारी गर्न हुने महिलाको आत्मसम्मानमा चोटका विषय उठान गरेकी थिइन् । उनको सबैभन्दा ठूलो चासोको विषय वैवाहिक अंगीकृत नागरिकता र आमाको नामबाट नागरिकता लिँदा सरकारी अधिकारीसामू गर्नुपर्ने स्वघोषणाको विषय थियो ।

 

प्रतिक्रिया

One thought on “राष्ट्रपति भण्डारीबाट नागरिकता विधेयक दोस्रो पटक प्रमाणिकरण गर्न अस्वीकार

  1. संबिधान को उल्लङ्घन मात्र होइन येदि त्यो हुन नपर्ने नै थियो भने यो एक राष्ट्रद्रोहको अपराध नै भयो रे! लौ छ त त़ाई कारबाही गर्ने, राज्य विद्रोही को मुद्दा उनि लाई लागाउने?
    बेक्कार का नालायक हरू काम केहि गर्ने होईन, सिर्फ हल्ला मात्र गरेर हिरो बन्न खोजेर हुन्छ? देशकै बेइज्जत्ति!! जय मात्रीभूमि!

Leave a Reply

Your email address will not be published. Required fields are marked *