रूपन्देहीमा हत्या अभियोगमा जन्मकैद सजाय सुनाइएका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

रूपन्देही प्रहरीले हत्या अभियोगमा अदालतले जन्मकैद सजाय सुनाएका एक जना फरार प्रतिवादीलाई २१ वर्षपछि पक्राउ गरेको छ। २०५८ सालमा भएको हत्या घटनाका फरार प्रतिवादी घटनाको २१ वर्षपछि सोमबार पक्राउ परेका हुन्।

२०५८ साल साउन २१ गते राति २ बजे रूपन्देहीको साविक विष्णुपुरा गाविस वडा नं. ७ मा पसल गरी बस्ने खडकबहादुर श्रेष्ठको कुटपिट गरी हत्या भएको थियो। सो घटनामा संलग्नमध्येका एक रूपन्देहीको साविक जोगडा गाविस वडा नं. ७ हालको गैँडहवा गाउँपालिका वडा नं. ५ सिंहवा स्थायी घर भएका ५७ वर्षीय रामपथी यादव भन्ने रामपति अहिर यादवलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो।

उनलाई इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलीले सोमबार बिहान ६ बजे उनकै घरमा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए।

रूपन्देही जिल्ला अदालतको २०७३ साल वैशाख ३० गतेको फैसलापश्चात् घटनामा संलग्न फरार प्रतिवादीमध्येका एक यादवलाई पक्राउ गरी मंगलबार फैसला कार्यान्वयनका लागि रूपन्देही जिल्ला अदालतमा पेस गरिएकोमा उनलाई सोही दिन नै कारागार चलान गरिएको डीएसपी अर्यालले बताए।

कर्तव्य ज्यान मुद्दाअन्तर्गत रहेको यो मुद्दालाई रूपन्देही जिल्ला अदालत र पुनरावेदन अदालत बुटवलले पनि विभिन्न मितिमा मुल्तबीमा राखेर २०७१ सालमा मुल्तबीबाट जगाई २०७३ सालमा फैसला गरेको थियो ।

यस घटनामा संलग्नहरू भारतका विभिन्न स्थानमा लुकिछिपी रहँदै आएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर