वृद्धभत्ताको झण्डै २१ लाख रकम अनियमितता गरेको आरोपमा खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा

जुम्लाको चन्दननाथ नगरपालिकाका पञ्जीकरण शाखा प्रमुख खरिदार राजेन्द्रबहादुर भण्डारीविरुद्ध सामाजिक सुरक्षा भत्ता अनियमिता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिदार भण्डारीविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

खरिदार भण्डारीले आ.व. २०७४/०७५ देखि आ.व. २०७६/०७७ सम्म सामाजिक सुरक्षा भत्ता बैंकमार्फत लाभग्राहीको खातामा जम्मा गर्नुपर्नेमा कार्यालयको नामबाट बैंकलाई आफैँ पत्र लेखेर दस्तखत गरी बैंकहरूमा पत्राचार गरी २० लाख ७८ हजार ६ सय रुपैयाँ आफ्नो तथा आफ्नो नाबालक छोराको व्यक्तिगत खातामा जम्मा गरेको अख्तियारको दाबी छ।

सो रकम जम्मा भएको केही दिनपछि नै पटकपटक उनले आफैले भुक्तानी लिई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई नेपाल सरकारबाट प्राप्त हुने सरकारी लाभबाट बन्चित गरेर आफ्नो व्यक्तिगत हितमा रकम खर्च गरेको देखिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

उनीविरुद्ध २० लाख ७८ हजार ६ सय रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना गरी दफा ३ को उपदफा (१) को (च) बमोजिम कैद सजाय मागदाबी गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर