युरोपेली संसदीय प्रतिनिधिमण्डल आज नेपाल आउँदै, यस्तो छ भ्रमण कार्यतालिका

युरोपेली संसद् (ईपी) को प्रतिनिधिमण्डल दुई दिने भ्रमणका लागि बिहीबार काठमाडौं आउँदैछ । नेपाल र युरोपेली संघबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन योगदान पुर्‍याउने र आगामी दिनमा सहकार्यलाई थप प्रगाढ बनाउने उपाय खोज्ने भ्रमणको उद्देश्य रहेको युरोपेली संघ (ईयू)ले जनाएको छ ।

प्रतिनिधिमण्डलको नेतृत्व एभलिन रेग्नर (अस्ट्रिया), युरोपेली संसदका उपाध्यक्ष उल्रिक मुलर (जर्मनी), टोमास जेडेचोभ्स्की (चेचिया) र म्याक्सिमिलियन क्रा (जर्मनी)ले गर्ने ईयूको नेपालस्थित कार्यालयले जनाएको छ।

प्रतिनिधिमण्डलले २०७२ सालमा संघीय संविधान जारी भएयताको ६ वर्षको संघीय लोकतन्त्रको स्थापना र कार्यशैलीबारे जानकारी गराउन प्रमुख राजनीतिक दलका प्रतिनिधिसँग भेटघाट गर्नेछ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यतालिका छ।

सदस्यहरूले त्यसपछि महिला राजनीतिज्ञहरू, नागरिक समाजका नेताहरू र पत्रकारहरूसँग जलवायु परिवर्तन, लैङ्गिक र सामाजिक समावेशीकरणसम्बन्धी मुद्दाहरूमा छलफल गर्नका लागि भेट्नेछन्।

ईपी प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री डा. नारायण खड्का, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलीन्द्रप्रसाद बडू र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग पनि छुट्टाछुट्टै भेट गर्नेछ ।

सदस्यहरूले बिहीबार ‘विश्व कार मुक्त दिवस’ को अवसरमा साइकल यात्रामा भाग लिने कार्यक्रम छ। राइड पाटनको ऐतिहासिक नागबहालमा हुनेछ र त्यहाँ उनीहरूले लैंगिक, सामाजिक समावेशीकरण र जलवायु परिवर्तनका विषयमा युवा आवाज बोर्डका सदस्यहरूसँगको छलफलमा पनि भाग लिनेछन् ।

युथ साउन्डिङ बोर्डमा युथ इनोभेसन ल्याब, अक्सफाम नेपाल र हेल्भेटास नेपालका साथै नेपालमा ईयूसँग काम गर्ने विकास साझेदारहरू समावेश छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *