गृहसचिव सिंहले प्रहरी मुख्यालय निरीक्षणपछि भने- ‘सरकार र प्रहरीबीच मियो बनेर सहयोग गर्छु’

गृहसचिव विनोदप्रकाश सिंहले सरकार र प्रहरीबीच ‘मियो’ बनेर सहयोग गर्ने बताएका छन्।

बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण तथा निरीक्षणपछि प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै गृहसचिव सिंहले यस्तो बताएका हुन्।

गृहसचिव सिंहले कार्यक्रममा उपस्थित प्रहरी अधिकृत तथा जवानहरू एवम् भिडियो कन्फ्रेन्सबाट सहभागी ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन गर्ने क्रममा संगठनको हित र सुधारका लागि प्राप्त हुने सुझावलाई आफूले गम्भीरतापूर्वक लिएको बताए। उनले त्यसको कार्यान्वयनका लागि प्रयास गर्ने बताउँदै संगठनको उद्देश्य र लक्ष्य हासिल गर्न सबै प्रहरी कर्मचारीहरूलाई ऐक्यबद्ध भई प्रतिबद्ध र लगनशील हुन आग्रह गरे ।

आत्महत्या, महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाप्रति राज्य अत्यन्तै संवेदनशील रहेको बताउँदै त्यस्ता हिंसा न्यूनीकरणको लागि थप प्रभावकारी भूमिका निर्वाह गर्न प्रहरी कर्मचारीहरूलाई उनले निर्देशन दिए।

गृहसचिव सिंहले प्रहरी कर्मचारीहरूलाई उच्च आचरण एवम् इमानदारितापूर्वक सांगठनिक प्रतिबद्धतामा अविचलित भई जिम्मेवारी बहन गर्न निर्देशन दिँदै नेपाल प्रहरी संगठनको सुदृढीकरण र शुद्धीकरणमा गृह मन्त्रालय सदैव दृढ संकल्पित रहेको बताए।

नेपाल सरकारबाट हुने निर्णयहरू र गर्नुपर्ने सहजीकरणमा समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रहरी कर्मचारीको मनोबल वृद्धिका लागि सरुवा, बढुवा र वृत्ति विकासजस्ता विषयलाई स्वच्छ, निष्पक्ष, पूर्वानुमानयोग्य बनाउन जरुरी रहेको उनले बताए।

गृहसचिव सिंहले प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण, समाजमा शान्ति स्थापना र मानवअधिकार संरक्षणमा प्रतिबद्ध रहनु र राष्ट्रप्रति समर्पित स्वच्छ प्रहरीको मर्मअनुसार सीमित स्रोत साधनको बाबजुद पनि प्रहरी संगठनले अहोरात्र निभाएको भूमिकाको प्रशंसा गर्दै ‘सत्य सेवा सुरक्षणम्’को मूल नारासहित प्रहरी संगठनले आफ्नो विशिष्ट योगदान इतिहासका हरेक कालखण्डमा स्थापित गर्दै आएकोमा नेपाल प्रहरीमा आबद्ध सबै कर्मचारीको लागि गौरवको विषय भएको उल्लेख गरे।

इतिहासको हरेक असजिलो अवस्थामा पनि आफूलाई संयमित राखेर राष्ट्रको सेवा र जनताको सुरक्षामा नेपाल प्रहरीले खेलेको भूमिका अत्यन्तै सराहनीय रहेको उनले बताए।

गृहसचिव सिंहले हरेक विपद्को घटनादेखि लिएर समाजमा हुने विभिन्न क्रियाकलापमा नेपाल प्रहरीले पहिलो पंक्तिमा रही भूमिका निर्वाह गरेको चर्चा गर्दै प्रहरीको क्रियाकलापहरू सहजीकरण एवम् अपराध अनुसन्धान नियन्त्रण तथा रोकथाममा समाज र नागरिकको सहयोग आवश्यक रहेकोले नागरिकसँगको प्रहरी सम्बन्धलाई अझ बढी सुदृढ, सबल र प्रगाढ बनाएर आगाडि बढ्नुपर्नेमा जोड दिए। विज्ञान र प्रविधिको तीव्र विकाससँगै अपराधका नयाँनयाँ प्रवृत्ति र शैलीप्रति नेपाल प्रहरी चनाखो रहेको उल्लेख गर्दै प्रहरी संगठनको सुधारका कार्यहरूलाई अगाडि बढाएर प्रहरीको संस्थागत विकासमार्फत प्रभावकारी सेवा प्रदान गर्न आग्रह गरे।

आउँदो निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र भयरहित तवरले सम्पन्न गराउन सबै प्रहरी कर्मचारीहरूले अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी जिम्मेवारी बहन गर्न अग्रह गर्दै नजिकिँदै गरेको चाडपर्वमा समेत आवश्यक अनुगमन तथा कारबाही प्रक्रियालाई अगाडि बढाउन सक्रिय हुनुपर्नेमा जोड दिए।

सो अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले गृहसचिवबाट प्राप्त अत्यन्तै महत्त्वपूर्ण, समसामयिक र सान्दर्भिक निर्देशनलाई संगठनले पूर्ण रूपमा ऐक्यबद्ध भई अक्षरशः पालना गरी नतिजा दिने प्रतिबद्धता व्यक्त गरे। स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरीले उत्कृष्ट रूपमा जिम्मेवारी बहन गरी सरकारबाट प्रशंसा पाएको स्मरण गर्दै प्रहरी महानिरीक्षक सिंहले आउँदो निर्वाचनलाई स्वच्छ, भयरहित र नागरिकले आफ्नो अधिकार प्रयोग गर्ने वातावरण बनाई सुरक्षा योजनाअनुरूप सबै प्रहरी कर्मचारीहरूले मन, वचन र कर्मले ऐक्यबद्ध भई जिम्मेवारी बहन गर्ने उल्लेख गरे।

निर्देशन सम्बोधन कार्यक्रमअघि नेपाल प्रहरीको संस्थागत प्रस्तुतीकरण कार्यक्रममा गृहसचिव सिंहसमक्ष प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवस्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्यांक तथा विश्लेषण, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी कार्यमा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र सहायता, नीति तथा योजना कार्यान्वयनको अवस्था, चुनौती, भावी योजना र अपेक्षालगायतका विषयमा प्रस्तुतीकरण दिएका थिए।

निरीक्षण भ्रमणका क्रममा गृहसचिवले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब, पोलिग्राफ शाखा र कमाण्ड सेन्टरको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिए।

गृहसचिव सिंह नेपाल प्रहरी प्रधान कार्यालय प्रवेश गर्दा उनलाई प्रहरी महानिरीक्षक सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेल, प्रहरी नायब महानिरीक्षकहरु एवम् प्रहरी वरिष्ठ अधिकृतहरूलगायत प्रहरी अधिकृत तथा जवानहरूको भौतिक उपस्थितिका साथै ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *