रुकुम पूर्वमा बस दुर्घटना : ५ को मृत्यु, १२ घाइते, घाइतेको हेलिकप्टरबाट उद्धार गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले रुकुम पूर्वको भूमे गाउँपालिका ३ को क्याङसी बगरमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूको उद्धार र उपचारमा हेलिकोप्टर प्रयोग गर्न निर्देशन दिएका छन्।

गृह प्रशासन र रुकुम पूर्व जिल्ला प्रशासन कार्यालयलाई गृहमन्त्री खाणले घाइतेको उद्धार गरी उपचारका लागि अस्पतालसम्म पु¥याउन हेलिकोप्टरको प्रयोग गर्न निर्देशन दिएका हुन्।

गृह मन्त्रालयका प्रवक्ता तथा सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणीन्द्रमणि पोखरेलले गृहमन्त्री खाणको निर्देशनपछि दुर्घटनामा घाइते भएकाहरूको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर घटनास्थलमा जान लागेको जानकारी दिए।

काठमाडौंबाट रुकुमकोटतर्फ गइरहेको ग १ ख ९१०९ नम्बरको बस भूमे गाउँपालिका वडा नम्बर २ को खावाङ बगर नजिकै पर्ने वडा नम्बर ३ को क्याङसी बगरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन्। घाइतेमध्य ५ जनाको अवस्था गम्भीर रहेको रुकुमपूर्वका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले जानकारी दिए।

गृहमन्त्री खाणले दुर्घटनामा घाइते भएकाहरूको अवस्था र उद्धारका लागि भइरहेका कार्यबारे टेलिफोनबाट जानकारी लिएका थिए।

बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
गृहमन्त्री खाणले मकवानपुरको भीमफेदीमा भएको यात्रुबाहक बस दुर्घटनाबारे पनि जानकारी लिँदै घाइतेहरूको यथाशीर्घ उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन्। मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरी घाइतेहरूको यथाशीर्घ उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।

भीमफेदी गाउँपालिकामा बिहीबार दिउँसो भएको दुर्घटनामा परेर ७ जनाको मृत्यु भएको र १७ जना घाइते भएका मकवानपुर प्रहरीले जनाएको छ।

काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको बस स्थानीय १२ घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *