संखुवासभाको खाँदबारी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

संखुवासभाको खाँदबारी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमार निरौलासहित ६ जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

खाँदबारी नगरपालिका वडा नं. ६ मा पर्ने हिगुवा महानन्द चोक हुँदै थलेडाँडा वर्खेडाँडा सडक खण्डमा उपभोक्ता समितिमार्फत भएको आ.व. २०७४÷०७५ को कार्यमा काम नै नगरी योजना र बजेट फरफारक गरेर भ्रष्टचार गरेको आरोपमा उनीसहित ६ जनाविरुद्ध मुद्दा दर्ता भएको हो।
यसरी मुद्दा दर्ता हुनेमा नगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निरौलासहित तत्कालीन इन्जिनियर सूरज श्रेष्ठ, सबइन्जिनियर मनोजकुमार चापागाईं, उपभोक्ता समितिका अध्यक्ष भुवननाथ अधिकारी, सचिव गोपाल बहादुर थापामगर र कोषाध्यक्ष मेनुका तामाङ रहेका छन्।

उनीहरूले उक्त निर्माण कार्यमा नभएको काम भएको देखाएर नापी किताब, स्वीकृत सम्झौता, बैंक स्टेटमेन्ट, बिल भरपाई तयार गरी ३ लाख ७४ हजार १ सय २७ रुपैयाँ ६६ पैसा भुक्तानी लिएर हिनामिना गरेको देखिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

उनीहरूविरुद्ध अनियमितता गरेको रकम बराबरकै बिगो कायम गर्दै सजायको मागदाबी गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *