सोलुखुम्बु–लुक्ला उडान अब रामेछापको मन्थली विमानस्थलबाट : मन्त्री श्रेष्ठ

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुँदै आएको सोलुखुम्बु–लुक्ला उडान अब रामेछापको मन्थली विमास्थलबाट हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले केही समय अगाडि नै काठमाडौं–लुक्ला उडानलाई मन्थली विमानस्थलबाट रामेछाप–लुक्ला उडान सुरु गर्ने निर्णय गरेको हो ।

प्राधिकरणको निर्णयअनुसार रामेछाप–लुक्ला उडानको लागि विमानस्थलमा आवश्वयक पर्ने संरचना तथा सेवा सुविधाका लागि विमानस्थल निर्माणको कार्य भइरहेको छ । निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीले समेत असोज ९ गतेदेखि रामेछाप–लुक्ला उडान शुरु गर्ने तयारी गरिसकेका छन् ।

बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठ, नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको टोलीले रामेछाप मन्थली विमानस्थलको स्थलगत निरीक्षण गरेको छ रामेछाप–लुक्ला नियमित उडानको लागि मन्थली विमानस्थल व्यवस्थित भए नभएको बारेमा मन्त्री श्रेष्ठले स्थलगत निरीक्षण गरेका छन् ।

मन्थली विमानस्थलको स्थलगत निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले प्राधिकरणले लुक्ला उडानलाई रामेछाप मन्थली विमानस्थललाई बेस बनाएर रामेछाप–लुक्ला उडानलाई व्यवस्थित बनाउने बताए । उनले विमानस्थल विस्तारको काम सकारात्मक रहेको भन्दै हवाई यात्रुहरूको लागि विमानस्थलमा आवश्वक संरचना निर्माण गरिने बताए ।

मन्त्री श्रेष्ठले मन्थली विमानस्थलबाट लुक्ला उडान गर्ने यात्रुहरू बढी विदेशी पर्यटकहरू हुने भएको भन्दै मन्थली विमानस्थललाई व्यवस्थित बनाउन आवश्यक रहेको बताए । उनले विदेशी तथा स्वदेशी नागरिकहरू विमानस्थलमा आउने वातावरण बनाउन विमानस्थलमा सेवा सुविधाहरू व्यवस्थित बनाउन निर्देशन दिए ।

मन्त्री श्रेष्ठले सरकारले मन्थली विमानस्थललाई व्यवस्थित गर्ने काममा कुनै कमि हुन नदिने बताए । उनले मन्थली विमानस्थलमा सर्वसाधरण जनताको लागि नियमित काठमाडौं उडान गर्ने विषयमा मन्त्रालयले चाँडै निर्णय गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै बिहीबा नै पर्यटनमन्त्री श्रेष्ठले दाङको टरिगाउँ विमानस्थलको पनि निरीक्षण गरेका छन् ।  मन्त्री श्रेष्ठले विमानस्थलमा पुगेर दाङको जनधनत्व र शहरीकरण बढ्दै गएकाले विमानस्थलमा ७२ सिट क्षमताको प्लेन ल्याण्डिङ गर्ने गरी धावनमार्ग बनाउनुपर्छ भनेर प्राथमिकतामा राखेको बताए ।

उनले विमानस्थल विस्तार गर्दै ७२ सिटे हवाईजहाज बस्न सक्नेगरी धावनमार्ग विस्तार गर्ने प्रतिबद्धता जनाए । उनले वर्तमान सरकारले एउटा जिल्लालाई मात्रै साधन स्रोत बनाउने भन्दा पनि सबै जिल्लामा समानुपातिक स्रोत साधनको विकास गर्ने उद्देश्य रहेको बताए । उनले अघिल्लो सरकारले सबै स्रोत र साधन झापा जिल्लामा मात्रै लगेको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर