मिटरब्याजी साह पुर्पक्षका लागि थुनामा

महोत्तरी जिल्ला अदालतले मिटरब्याजी अनिरुद्ध साहलाई पूर्पक्षका लागि जेल चलान गरेको छ ।

महोत्तरी जिल्ला अदालतका न्यायाधीश हेमबहादुर सेनको इजलासले भङ्गाहा नगरपालिका–५ बस्ने मिटरब्याजी ४० वर्षीय अनिरुद्धलाई बुधबार अबेर साँझ पूर्पक्षका लागि जेल चलान गरेको हो ।

साहमाथि महोत्तरीदेखि झापासम्मका दर्जनौं व्यक्तिलाई मिटरब्याजको कुचक्रमा फँसाएर उठिबास र घरवारविहीन बनाउनुका साथै ऋण दिएकै कारण कतिपय महिलालाई यौन शोषण गरेको आरोप लागेका छ ।

महोत्तरी जिल्ला अदालतका स्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार अनिरुद्धले थुप्रै मानिससँग अवैधरूपमा ब्याज असुली गरेको, धेरैलाई उठिबास लगाएको र ब्याजकै कारण धेरैलाई घरबारविहीन बनाएकोसम्बन्धी पर्याप्त सबुत प्रमाण अदालतमा पेस भएकाले उनलाई न्यायाधीश सेनले पूर्पक्षमै राखेर मुद्दा अगाडि बढाउने आदेश दिएका हुन् ।

भङ्गाहा–५ बस्ने चन्द्रकला महरासमेतको जाहेरीले वादीd नेपाल सरकार, प्रतिवादी भङ्गाहा–५ बस्ने अनिरुद्धसमेत भएको ठगी, आपराधिक विश्वासघात, लिखतसम्बन्धी कसुर तथा सङ्गठित अपराध मुद्दाको सिलसिलामा निज प्रतिवादी अनिरुद्धलाई प्रहरीले भदौ ४ गते पक्राउ गरेको थियो ।

निज उपर उल्लिखित मुद्दामा आवश्यक अनुसन्धान पश्चात् जिल्ला सरकारी वकिल कार्यालयमार्फत महोत्तरी जिल्ला अदालतमा पेस गरिएकामा अदालतले उनलाई पूर्पक्षका लागि जेल पठाउने आदेश दिएको हो । अदालतद्वारा पूर्पक्षका लागि जेल पठाउने आदेश भएपछि अनिरुद्धलाई जलेश्वर कारागारमा पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर