भारत सरकारले बनाउँदैछ नेपाल प्रहरीकाे बहुप्रतीक्षित एकेडेमी

भारत सरकारको अनुदानमा काभ्रेपलाञ्चोकमा निर्माण हुने भनिएको बहुप्रतीक्षित नेपाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजना बन्ने निश्चित भएको छ।

सो परियोजना निर्माणका लागि गृहमन्त्री बालकृष्ण खाण र भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार संयुक्त रूपमा भूमि पूजा गरेका छन्।

यो परियोजनाको परिकल्पना प्रहरीका १४ औं महानिरीक्षक मोतीलाल बोहराले गरेका थिए। अन्ततः करिब तीन दशकपछि उनको परिकल्पनाले सार्थकता पाउन लागेकाे हाे।

यस परियोजनाको शिलान्यास सन् २०१४ नोभेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र भारतीय समकक्षी मोदीले संयुक्त रूपमा शिलान्यास गरेका थिए।

भारत सरकारको १ हजार कराेड रुपैयाँ अनुदानमा निर्माण हुने यो परियोजना भारत सरकारको सहयोगमा नेपालमा निर्माण भएका ठूला परियोजनाहरूमध्येको एक हो । यो कार्यक्रम भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’कै एक हिस्साको रूपमा रहेको छ ।

यस परियोजनाको कुल क्षेत्रफल करिब ८४ एकड रहकोमा क्याम्पस भवनको निर्माण १.१० लाख वर्गमिटरको क्षेत्रफल हुनेछ । स्थानीय वास्तुकला र आधुनिक प्रविधिको सम्मिश्रण गरी प्रतिष्ठानका भवनहरूको निर्माण गरिनेछ । दिगो विकास मापदण्डअनुरूप निर्माण हुने यो परियोजना वातावरण एवम् ऊर्जामैत्री हुनेछ । आधुनिक सेवा सुविधासहित निर्माण हुने यस संरचनाले नेपाल प्रहरीलाई अत्याधुनिक प्रशिक्षण पूर्वाधार प्रदान गर्ने विश्वास लिइएको छ।

भूमि पूजन कार्यक्रममा बोल्दै भारतीय राजदूत श्रीवास्तवले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यान्वयन टोलीले सबैको साथ र सहयोगमा निर्धारित समयभित्रै निर्माण कार्य सम्पन्न गर्ने विश्वास व्यक्त गरे। साथै उनले भारत र नेपालबीचको घनिष्ठ सम्बन्धको अर्को महत्त्वपूर्ण कोशेढुंगाको रूपमा रहेको यस प्रतिष्ठित परियोजनाको सफल कार्यान्वयनका लागि भारत सरकारको पूर्ण सहयोग रहने बताए।

स परियोजनाको निर्माण र द्विपक्षीय सहकार्य तथा विकास साझेदारीअन्तर्गत भइरहेको निरन्तर सहयोगका लागि गृहमन्त्री खाणले भारत सरकारलाई धन्यवाद व्यक्त गरे।

र, याे पनि-

२७ वर्षपछि मूर्त बन्दैछ आईजीपी मोतिलाल बोहराको एकेडेमी सपना

 

भारत र नेपालबीच बहुआयमिक तथा बहुपक्षीय विकास साझेदारी रहेको छ जसले दुई देशका जनताबीच रहेको निकटतालाई दर्शाउँछ । यस परियोजनाको कार्यान्वयनले नेपाल सरकारको प्रयासमा भारत सरकारको सदैव सहयोग रहने कुरालाई प्रतिबिम्बित गर्ने नेपालस्थित भारतीय राजदूतावाले जनाएको छ।

भारतीय प्रधानमन्त्री मोदीको सन् २०१४ मा भएको नेपाल भ्रमणमा परियोजनाको सम्झौतासहित पहिलो चरणको २ अर्ब ३० करोड ७८ लाख भारतले पठाएको थियो। एकेडेमी निर्माणका लागि संयुक्त परिचालन तथा सुपरीवेक्षण समितिसमेत बनेको थियो ।

भारतीय प्रधानमन्त्री मोदीले २०७१ मंसिरमा सार्क शिखर सम्मेलनमा आउँदा प्रहरीका लागि एकेडेमी निर्माण गर्न ८ अर्ब ७९ करोड १३ लाख ८० हजार अनुदान सहयोग दिने सम्झौता भएको थियो।

र, १३ असारमा भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोकको पनौतीमा निर्माण हुने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाका लागि ठेकेदार कम्पनी अहलुवालिया कन्ट्रक्सन (इण्डिया) लिमिटेड तथा नेपाली ज्वाइन्ट भेञ्चर रोशन कन्स्ट्रक्सन प्राइभेट लिमिटेड र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो।

प्रतिष्ठानको तर्फबाट कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्दराज आचार्य र एसीआईएल आरसीपीएल जेभीका तर्फबाट अहलुवालिया कन्ट्रक्सन (इण्डिया) लिमिटेडका चिफ अपरेटिङ अफिसर अरुण सहायले हस्ताक्षर गरेका थिए।

तर, यहाँ पनि विविध कारणले ढिला भएको यो परियोजनामा राजनीतिक आड र नगदमा ठेक्का हत्याउने तर काम नसक्ने रोशन कन्स्ट्रक्सन प्राइभेट लिमिटेड छिरेको छ । भारतमा अहलुवालिया कन्ट्रक्सन (इण्डिया) लिमिटेड प्रतिष्ठित निर्माण कम्पनी हो । तर, ऊसँग सहकार्य गर्ने नेपालको निर्माण कम्पनी त्यति विश्वसनीय छैन।

यसका सञ्चालक रोशन गुप्ता आवश्यकताअनुसार र राजनीतिक परिवर्तनअनुसार आफूलाई उभ्याउने अस्थिर भएकाले यो परियोजना समयमै परा हुनेमा अझै पनि आशंका भने कायम नै छ।

हेर्नुहाेस परियाेजनाकाे भिडियाे–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर