अमेरिकी सहायकमन्त्री ट्रुडो नेपालमा

अमेरिकाको विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो नेपाल आइपुगेकी छिन् ।

चिनियाँ जनकंग्रेसका सभामुख ली चान्शुले नेपाल भ्रमण गरेको दुई हप्ताभित्रै ट्रुडो नेपाल आएकी हुन् ।

ट्रुडो नेपालसँगै यूएई, उज्बेकिस्तान र किर्गिस्तानको १२ दिने भ्रमणमा रहनेछिन् । २ दिने भ्रमणमा ट्रुडाे नेपाल भ्रमणमा आएकाे नेपालका लागि अमेरिकी राजदूत र्‍याडी बेरीले ट्विट गर्दै जानकारी दिएका छ्न । उनी नेपालको रमणीय स्थानको भ्रमण गर्ने बेरीले जनाएका छन् ।

अमेरिकी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार ट्रुडो नेपालमा दुष्प्रचारविरुद्ध विभिन्न कार्यक्रममा सहभागी हुनेछिन् । अमेरिकाले अफगानिस्तानमा सामाजिक समता, मिडिया फ्रिडम र जलवायुका विषयमा गरेको सहयोगलाई चीन र रुसले दुष्प्रचार गरेको आरोप लगाएको छ ।

अमेरिकाले नेपालको संसद्ले अनुमोदन गरेको एमसीसी सम्झौता विषयमा पनि भ्रम फैलाएको आरोप लगाइरहेको छ ।

नेपाल भ्रमणका क्रममा सहायक विदेशमन्त्री ट्रुडोले भ्रमपूर्ण समाचार र लोकतन्त्रमा सञ्चारमाध्यमको भूमिकाबारे ‘राउन्ड टेबल’ अन्तरक्रिया गर्ने बताइएको छ । साथै अल्पसंख्यक समूहका अभियन्ता र सञ्चार क्षेत्रका व्यक्तिसँग भेट्ने कार्यक्रम रहेको छ । नेपालपछि ट्रुडो यूएई, उज्बेकिस्तान र किर्गिस्तानको भ्रमणमा जानेछिन् ।

पछिल्लो समय चीन र अमेरिकाबीच तनाव बढिरहेको छ । दुई महाशक्ति राष्ट्रबीच ताइवानको विषयले तनाव थप उत्कर्षमा पुगेको छ ।

चिनियाँ सभामुख ली चान्शुले भदौ २७ गतेदेखि नेपालको तीन दिने भ्रमण गरेका थिए । उनले नेपाल भ्रमण गरेको छोटो समयभित्रै अमेरिकाबाट हुन लागेको उच्च अधिकारीको नेपाल भ्रमणलाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर