सशस्त्र हेडक्वार्टर निरीक्षण गर्दै गृहसचिव सिंहले भने- ‘सशस्त्रका कर्मचारीको वृत्ति विकास मन्त्रालयकाे प्राथमिकतामा’

गृहसचिव विनोदप्रकाश सिंहले बुधबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूको निरीक्षण भ्रमण गरेका छन् । गृहसचिव सिंहले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट र भर्चुअल माध्यममार्फत बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूबाट देशको समग्र शान्ति सुरक्षा व्यवस्थापनमा भएगरेका कामकारबाही, संगठनका समस्या र चूनौतीहरूका बारेमा जानकारी लिएका छन् ।

उनले सशस्त्र प्रहरी बल नेपाल सीमित स्रोत साधनका बाबजुद कठिन परिस्थिति र स्थानमा समेत सीमा रक्षार्थ तैनाथ रहेको र प्रतिकूल अवस्थामा रहेका बीओपीहरूको सुधारका लागि समयानुकूल बन्दोबस्ती व्यवस्थापनमा गृह मन्त्रालयले पहल गरिरहेको बताए ।

गृहसचिव सिंहले आगामी निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्त्वपूर्ण रहने बताए । उनले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपालका बाहिनीपति तथा युनिटपतिहरूलाई आफू मातहतकालाई उचित ढंगले परिचालन गरी कार्यसम्पादन गर्न निर्देशन दिए ।

सशस्त्र प्रहरी बल, नेपालले शान्ति सुरक्षा कायम गर्न सक्षमता, निपुणता तथा तदरुकताका साथ कार्य गर्ने अपोक्षा राखेको बताउँदै उनले सीमा सुरक्षामा काठिन परिस्थितिका बाबजुद परिचालित कर्मचारीहरूप्रति सम्मान प्रकट गरे ।

गृहसचिव सिंहले सशस्त्र प्रहरी बल, नेपालले स्थापनाकालदेखि नै जस्तोसुकै कठिन परिस्थितिमा समेत सहजताका साथ दायित्व निर्वाह गर्दै आइरहेको उल्लेख गर्दै गृह मन्त्रालयले सशस्त्र प्रहरी कर्मचारीहरूको वृत्ति विकासका लागि प्राथमिकताका साथ कार्य गरिरहेको बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले धन्यवाद ज्ञापन गर्दै गृहसचिव सिंहबाट भएको निर्देशनलाई अक्षरशः पालना गरी इमानदारितापूर्वक जम्मेवारी निर्वाह गर्न सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरूलाई निर्देशन दिए । सशस्त्र प्रहरी बल, नेपालले राज्यप्रदत्त जिम्मेवारीहरूलाई सदैव शिरमा राखेर उच्च नैतिकता, इमानदारिता र अनुशासनका साथ अहोरात्र परिचालित भई राष्ट्र र आम नागरिकको सेवा सुरक्षा, विपद् व्यवस्थापन तथा उद्धारलगायतका विविध जिम्मेवारीहरूमा परिणाममुखी कार्यसम्पादनमा क्रियाशील रहिरहनुपर्ने बताए ।

उनले मानव अधिकारको रक्षा, लैंगिक हिंसा र भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई कडाइका साथ कार्यान्वयन गर्न गराउन निर्देशन दिँदै सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, चोरीपैठारी तस्करी नियन्त्रणलगायत नेपाल सरकारले अवलम्बन गरेका नीतिहरूलाई दृढताका साथ पालना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महानिरीक्षक अर्यालले आगामी निर्वाचन भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउनका लागि सम्पूर्ण तयारी गरिएको बताउँदै जस्तोसुकै परिस्थितिमा पनि आम नागरिकको सेवा, सुरक्षा र उद्धारमा परिचालित हुने उल्लेख गरे ।

उक्त निर्देशन सम्बोधन ‘लाइभ भिडियो स्ट्रीमिङ’, इन्ट्रानेट तथा सशस्त्र प्रहरी सञ्चारद्वारा देशभर रहेका सशस्त्र प्रहरी बल नेपालका इकाइहरूमा प्रत्यक्ष प्रसारण गरी हेर्ने र सुन्ने व्यवस्था मिलाइएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम, नेपाल सरकार गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेललगायत सशस्त्र प्रहरी बल, नेपालका वरिष्ठ अधिकृत तथा काठमाडौंस्थित सशस्त्र प्रहरी बल, नेपालका बाहिनीपति, गणपति र गुल्मपतिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर