सशस्त्र महानिरीक्षक अर्यालको सकल दर्जालाई निर्देशन- ‘चाडपर्वमा थप वफादार भएर काम गर्नू’

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालीहरूको महान चाड दशैं, तिहार, छठ र नेपाल संवतको अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका परिवारजनमा शुभकामना व्यक्त गरेका छन्।

उनले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट बुधबार शुभकामना दिँदै स्वदेश तथा विदेशमा विभिन्न कार्यक्षेत्रमा परिचालित सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुको सुख, शान्ति, समृद्धि एवं दिर्घायुको कामना गरे।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले राष्ट्र र जनताको सेवा र सुरक्षाका खातिर आफ्नो प्राणको आहुति दिएका अमर सशस्त्र प्रहरीको त्याग तथा योगदानको स्मरण गर्दै जिम्मेवारी निर्वाहको क्रममा घाइते तथा अङ्गभङ्ग भएका सशस्त्र प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले चाडपर्वको समयमा समेत नागरिकको सेवा, सुरक्षा, सहयोग र आपदविपद्मा परेकाहरूको उद्धारमा थप जोश, जाँगर, हौसला र वफादारिताका साथ परिचालित हुन सकल दर्जाका सशस्त्र प्रहरी राष्ट्रसेवकहरूलाई निर्देशन दिए। उनले सुरक्षा आफैँमा जटिल, संवेदनशील र चुनौतीपूर्ण हुने हुँदा सुरक्षासँग सरोकार राख्ने अन्य निकायसँग समन्वय गरी चाडपर्वका बेला सजगताका साथ अझ बढी सक्रिय भई परिचालन हुनुपर्ने बताए।

महानिरीक्षक अर्यालले चाडपर्वको बेला स्वदेश तथा विदेशमा आवतजावत गर्ने नागरिकको सहयोग तथा सुरक्षका लागि देशका विभिन्न नाकाहरूमा आवश्यकताअनुसार सहायता कक्ष स्थापना गरी देश र आम नागरिकको सेवा, सुरक्षमा निःस्वार्थ भावले सेवा प्रदान गर्न कटिबद्ध भई लाग्नुपर्ने बताए।

उक्त शुभकामना सन्देश देशभर रहेका सशस्त्र प्रहरी बल, नेपालका इकाइहरूमा ‘लाइभ भिडियो स्ट्रीमिङ’, इन्ट्रानेट तथा सशस्त्र प्रहरी सञ्चारद्वारा प्रत्यक्ष प्रसारण गरी हेर्ने र सुन्ने व्यवस्था मिलाईएको थियो।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमलगायत सशस्त्र प्रहरी बल, नेपालका अधिकृत तथा बिल्लादार जवानहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर