नेप्से परिसूचकमा दाेहाेराे अंककाे गिरावट

धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.०६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५५ दशमलब १६ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूच्क तीन दशमलब २१ अङ्कले ओरालो लागेर तीन सय ६३ दशमलब ६३ मा सीमित भएको छ ।

कुल दुई सय २९ कम्पनीको १७ लाख ६७ हजार ६ सय ९२ कित्ता शेयर ५५ करोड २७ लाख १२ हजार आठ सय ८५ रूपैयाँमा कारोबार भएको छ । यसबाट के बुझ्न सकिन्छ भने कारोबार रकम र नेप्से दुवैमा गिरावट आएको छ । कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा झिनो सुधार देखिएको छ भने १० उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । व्यापार, होटल तथा पर्यटन र सामूहिक लगानी कोषमा झिनो सुधार हुँदा अरू उपसमूहको शेयर मूल्यमा गिरावट देखिएको हो ।

आजको कारोबारपछि बजार पूँजीकरण २६ खर्ब ६६ अर्ब ४३ करोड ५१ लाख २९ हजार एक सय ५९ रूपैयाँ बराबर कायम भएको छ । कारोबारका आधारमा नविल बैंक शीर्ष स्थानमा छ । सो बैंकको तीन करोड १० लाख नौ हजार चार सय ४९ रूपैयाँ बराबरको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स दुई करोड ४३ लाख ६७ हजार सात सय ८९, हिमालयन पावर पार्टनर दुई करोड १८ लाख ९९ हजार पाँच सय १३ , रिडी पावर कम्पनी दुई करोड सात लाख तीन हजार आठ सय ७२ र नेपाल दूरसञ्चार कम्पनी एक करोड ९२ लाख ७४ हजार सात सय ३५ रूपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार समिट लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । अभियान लघुवित्त नौ दशमलव ९८, रुरु जलविद्युत् परियोजना सात दशमलव ८४ र श्वेत गङ्गा हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव शून्य चार प्रतिशतले कमाएका छन् ।

यस्तै विन्दवासिनी हाइड्रोपावर सात दशमलव १८, सिङ्गटी हाइड्रोपावर चार दशमलव २६, नेरुडे लघुवित्त तीन दशमलव ८३, सर्पोट माइक्रोफाइनान्स तीन दशमलव ७८ र एभरेष्ट बैंकका लगानीकर्ताले तीन दशमलव ७८ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *