अवस्था ठीक नभएका २५ वटा सवारी साधनलाई कारबाही, १६ वटा नियन्त्रणमा

भक्तपुरको जगातीमा मंगलबार गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठीक नभएका माइक्रोबस, भ्यान र टाटासुमोलगायतका २५ ओटा भाडाका सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गर्नुका साथै १६ वटालाई नियन्त्रणमा लिएको छ ।

मंगलबार दिउँसो तालिमप्राप्त प्राविधिकसहितको टोलीद्धारा गरिएको चेकिङको क्रममा हेण्डब्रेक नभएका, लाइटहरू नभएका र टायर धेरै घिसिएकालगायत अवस्था ठीक नभएका २५ वटा सवारी साधनलाई कारबाही गरिएको र १६ वटालाई नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह–प्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए ।

नियन्त्रणमा लिएका १६ ओटा सवारी साधनलाई आवश्यक कारबाहीको लागि यातायात व्यवस्था विभाग सवारी परीक्षण कार्यालय टेकु पठाइएको छ । मंगलबार भएको चेकिङमा १ सय १५ वटा सवारी साधनको अवस्था चेकजाँच गरिएको थियो ।

अवस्था ठीक नभएको सवारी साधन चलाउँदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्नसक्ने भएकाले सम्भावित जोखिम कम गर्न मंगलबार दिउँसो सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक दलराम टमटाको कमाण्डमा ट्राफिक प्रहरीको टोली भक्तपुरको जगाती क्षेत्रमा खटिएको थियो ।

अवस्था ठीक नभएका सवारी साधनलाई कारबाही गर्दै आएको ट्राफिक प्रहरीले गत भदौ १५ गतेदेखि अभियानकै रूपमा कारबाहीलाई थप तीव्रता दिँदै आएको छ । सम्पूर्ण यातायात व्यवसायी, सवारी धनी तथा चालकहरूलाई आफ्नो सवारी साधनको अवस्था दुरुस्त बनाएर मात्र ट्राफिक प्रहरीले अनुरोध पनि गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर