भ्रष्टाचार अभियोगमा म्यान्मारकी अपदस्थ नेतृ सुचीलाई छब्बीस वर्षको जेल सजाय

सेना शासित म्यान्माको एक अदालतले अपदस्थ नेतृ आङ सान सुचीलाई थप दुई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ । अब उनलाई दुई तीन वर्षको जेल सजाय एकैसाथ हुनेछ । पहिलेको सुनाइएको सजायमा यो थपिएको छ । बुधबार सुनाइएको निर्णयअनुसार नेतृ सुचीलाई २६ वर्षको जेल तोकिएको छ ।

सतहत्तर वर्षीया सुचीलाई गत वर्षको फेब्रुअरी १ मा सेनाले उनको निर्वाचित सरकारबाट सत्ता कब्जा गरेपछि हिरासतमा राखेको थियो । उनले आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै आएकी छन् । नेतृ सुचीमाथि लागुऔषध तस्करीको अभियोगमा दोषी ठहरिएका कुख्यात माउङ वेइकबाट पाँच लाख ५० हजार अमेरिकी डलर घुस लिएको आरोप लगाइएको थियो ।

सन् १९९१ को नोबेल शान्ति पुरस्कार विजेता नेतृ सुचीविरुद्ध सेनाले लगाएका धेरै आरोपमा भ्रष्टाचारका मुद्दा सबैभन्दा बढी छन् । नेतृ सुचीलाई भ्रष्टाचारविरोधी ऐनअन्तर्गत जम्मा १२ वटा मुद्दा लगाइएको छ जसमा प्रत्येकलाई १५ वर्षसम्मको जेल सजाय र जरिवाना हुनसक्छ ।

उनलाई अवैध रूपमा वाकी–टकीहरू आयात गरेर राखेको, कोरोना भाइरसविरुद्धका प्रतिबन्धहरू उल्लङ्घन गरेको, देशको गोप्य ऐन उल्लङ्घन गरेको, देशद्रोह गरेको, चुनावमा ठगी गरेको तथा भ्रष्टाचारका पाँच आरोपमा दोषी ठह¥याएपछि २३ वर्षको जेल सजाय सुनाइएको थियो ।

नेतृ सुचीका समर्थकहरू र स्वतन्त्र विश्लेषकहरूले ती आरोप राजनीतिक रूपमा प्रेरित रहेका र उनलाई बदनाम गर्ने तथा सेनाको सत्ता कब्जालाई वैधानिक बनाउने प्रयास भएको बताएका छन् । आगामी वर्ष हुने निर्वाचनमा उनलाई भाग लिनबाट रोक्ने प्रयासमा सेनाले ती आरोप लगाएको उनीहरूको भनाइ छ ।

नेतृसुचीविरुद्धका मुद्दाको सुनवाइ राजधानी नेपिटोको बाहिरी भागमा अवस्थित मुख्य कारागारको एउटा कोठामा भएको छ । उनलाई हिरासतमा लिइएदेखि सार्वजनिक रूपमा बोल्न वा भेटघाट गर्न दिइएको छैन । उनका वकिलहरूलाई पनि मुद्दाका बारेमा सार्वजनिक रूपमा बोल्न अनुमति दिइएको छैन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर