निर्वाचन आचारसंहिता उल्लंघन गर्ने स्थानीय जनप्रतिनिधिलाई कारबाही गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताविपरीतका कार्य गर्ने स्थानीय तहका पदाधिकारी र सदस्यहरूलाई कारबाही गर्न निर्देशन दिएको छ ।

आमनिर्वाचनका लागि आचारसंहिता लागू भइसकेको अवस्थामा कतिपय स्थानीय तहका कार्यपालिकाका सदस्यहरूले निर्वाचन आचारसंहिताविपरीत आफ्नो पालिकाभित्र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको जानकारी आएको भन्दै आयोगले यस्तो निर्देशन दिएको हो ।

निर्वाचन आचारसंहिताअनुसार कुनै पनि स्थानीय तहमा निर्वाचित कार्यपालिका सदस्यले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नमिल्ने साथै आफू निर्वाचित भएका स्थानीय तहबाहेकको स्थानमा कुनै उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न चाहेमा सरकारी साधन स्रोत (सवारी साधन, सुरक्षाकर्मी आदि)को प्रयोग नगरी आचारसंहिता प्रतिकूल नहुने गरी संलग्न हुन सकिने व्यवस्था रहेको पनि आयोगले स्मरण गराएको छ ।

कतिपय स्थानीय तहका कार्यपालिकाका पदाधिकारी र सदस्यहरूले निर्वाचन आचारसंहिताविपरीत आफू बहाल रहेको स्थानीय तहमा कुनै उम्मेदवारको पक्षमा प्रचारप्रसार कार्यमा संलग्न भएको भन्ने उजुरी आएको तथा आयोगको अनुगमनबाट समेत त्यस्तो देखिएको आयोगले प्रेस विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

आचासंहिता उल्लंघन गर्ने त्यस्ता पदाधिकारी र सदस्यहरूलाई निम्न लिखित तीन बुँदामा उल्लेख भएअनुुसार कारबाही प्रक्रिया अगाडि बढाउन आयोगले भनेको छ :

१. स्थानीय तहको कार्यपालिकाका पदाधिकारी र सदस्यहरूले निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको पाइएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम निजलाई कार्वाही गर्न स्पष्टीकरण सोधी तत्काल कारवाहीको प्रक्रिया अघि बढाउन जिल्ला आचारसंहिता अनुगमन समितिका अधिकृत (कोष तथा लेखा नियन्त्रक कार्यलयका प्रमुख)लाई निर्देशन दिने । साथै सोको सम्पूर्ण विवरण तत्काल जिल्ला आचारसंहिता अनुगमम समिति र आयोगमा पठाउने ।

२. बुँदा नं. १ बमोजिमको कारबाही प्रक्रिया अघि बढाउन आवश्यकताअनुसार जिल्ला आचारसंहिता अनुगमन समिति तथा निर्वाचन कार्यलयले आवश्यक सहजीकरण र सहयोग गर्ने ।

३. स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको पाइएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा ७ बमोजिम आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउन सम्बन्धित स्थानीय तहको कार्यालय तथा प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिने ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर