गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीले गरिन् बिदाइ भेट

गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिहीबार गृह मन्त्रालयमा बिदाइ भेट गरेकी छन् । भेटमा नेपाल–चीनबीचको आपसी सम्बन्ध, आपसी सहयोग आदानप्रदानलगायत विषयमा कुराकानी भएको छ ।

गृहमन्त्री खाणले भेटमा नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध रहेको बताए । ‘नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध छ,’ गृहमन्त्री खाणले भने, ‘नेपाल सरकार, नेपाली जनता एक चीन नीतिप्रति विश्वस्त छौँ । छिमेकी मुलुकको सुरक्षा संवेदनशीलतामा सरकार संवेदनशील छ ।’

उनले नेपालमा कुनै पनि मुलुकविरुद्ध कुनै अवाञ्छनीय गतिविधि हुन नदिने बताए । त्यस्तै गृहमन्त्री खाणले राजदूत यान्छीको कार्यकालमा भएको चिनियाँ राष्ट्रपति सि चिनफिङ, चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि चान्शुलगायत उच्च पदस्थ अधिकारीको नेपाल भ्रमणले नेपाल–चीन सम्बन्धलाई अझै सुदृढ बनाएको बताए ।

नेपाल–चीनबीचमा कूटनीतिक सम्बन्धका साथसाथै सामाजिक र सांस्कृतिक सम्बन्ध पनि रहेको बताउँदै खाणले नेपालको भौतिक विकास, प्राकृतिक विपद् र महामारीको बेलामा पुर्‍याएको सहयोगका लागि चिनियाँ सरकार र चिनियाँ जनतालाई धन्यवाद दिए ।

राजदूत यान्छीले चारवर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेर नयाँ महत्त्वपूर्ण जिम्मेवारीका लागि जान लागेकोमा गृहमन्त्री खाणले शुभकामना दिए । स्वदेश फर्किएपछि पनि यान्छीले नेपाल–चीन सम्बन्ध प्रगाढ बनाउन र नेपालको विकास र समृद्धि, सद्भाव र सहयोग, पर्यटनको विकासमा चिनियाँ नागरिकहरूलाई नेपाल भ्रमणमा प्रेरित गर्न निरन्तर भूमिका खेलिरहने विश्वास गृहमन्त्री खाणले व्यक्त गरे ।

राजदूत यान्छीले नेपालको विकास र प्रगतिका लागि चीनले सदैव सद्भाव र सहयोगका साथसाथै शुभकामना व्यक्त गरिरहेको बताइन् । पर्यटन विकासका लागि नेपाल भ्रमण आउने वातावरण चिनियाँ सरकारले मिलाउने र आफूले व्यक्तिगत रूपमा नेपालको भौगालिक, सामाजिक र सांस्कृतिक विविधता तथा नेपालीको पर्यटक र पाहुनाप्रतिको सद्भावबारे आफ्ना चिनियाँ साथी र जनतासम्म विचार राख्ने बताइन् ।

खाण गृहमन्त्री भएपछि चीन–नेपाल सम्बन्ध सुदृढ बनाउन खेलेको भूमिकाको सराहना गर्दै राजदूत यान्छीले चीनको सुरक्षा संवेदनशीलतालाई गम्भीर रूपमा लिएकोमा धन्यवाद व्यक्त गरिन् । मंसिर चार गते निर्धारित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न नेपाल सरकार र गृहमन्त्रीलाई सफलता मिलोस् भन्ने शुभकामना चीन सरकारका तर्फबाट राजदूत यान्छीले दिइन् । आफू जुनसुकै जिम्मेवारीमा जहाँ रहे पनि नेपालबाट प्राप्त सम्मान र सद्भावलाई सदैव सम्झिरहने यान्छीले बताइन् ।

गृहमन्त्री खाणले नेपालमा संवैधानिक व्यवस्थाअनुसार ५/५ वर्षमा स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन हुने जानकारी गराउँदै स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरेको तथा मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्रतापूर्वक सम्पन्न गर्ने तयारी सरकारले गरिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर