युक्रेनको पक्षमा नेपालले गरेको मतदानको जवाफदेहिता निगरानी समितिले गर्‍याे स्वागत

जवाफदेहिता निगरानी समितिले नेपालले यही असोज २६ गते राति युक्रेनका चार भूभाग रुसमा विलय गराउन गरिएको भनिएको जनमतसंग्रहको विपक्ष तथा अखण्ड युक्रेनको पक्षमा गरेको मतदानको स्वागत गरेको छ ।

राष्ट्रसंघको बडापत्रबमोजिम कुनै पनि राष्ट्रको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राजनीतिक स्वतन्त्रता तथा आक्रमकताविरुद्धको सिद्धान्तलाई अक्षुण राख्ने प्रस्तावका पक्षमा मत जाहेर गर्नु प्रत्येक शान्तिप्रिय सदस्य राष्ट्रको कर्तव्य रहेको समितिले उल्लेख गरेको छ ।

‘यसै सन्दर्भमा युक्रेन तथा त्यहाँका नागरिकका पक्षमा नेपाललगायत १४३ राष्ट्रले आफ्नो मत जाहेर गरेर शक्तिराष्ट्रको कुत्सित राजनीतिलाई दुरुत्साहित गरेको छ । युक्रेनी जनताको सार्वभौमसत्ता तथा मानव अधिकारका पक्षमा विश्व समुदाय उभिएको छ । यस सिद्धन्तलाई आत्मसाथ गरेर नेपालले दिएको साथ र मतदानले नेपाली जनताको मनोभावलाई सम्मान गरेको निगरानी समितिको ठहर छ,’ समितिका संयोजक चरण प्रसाईंले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विश्व शान्ति, न्याय तथा मानव अधिकार राष्ट्रको आन्तरिक राजनीति वा वाह्य राजनीतिक प्रभावभन्दा माथि हुन्छ भन्ने आफ्ना मान्यता रहेको समितिले बताएको छ । यसप्रतिको प्रतिबद्धता सम्बन्धित राष्ट्रले अन्तर्राष्ट्रिय मञ्चमा खेलेको भूमिकाले प्रतिबिम्बित गर्ने विज्ञप्तिमा उल्लेख छ ।

‘यसका सन्दर्भमा बाह्य राजनीतिक प्रभावबाट नेपाल बेलाबखत चुके पनि यस साधारण सभामा विश्व समुदायबीच युक्रेनका पक्षमा उभिनु स्वागत योग्य छ ।

साथै, रुस–युक्रेनबीच युद्धको समाप्ति वार्ताका माध्यमद्वारा मात्र हुनसक्छ भन्ने हाम्रोे विश्वास छ । यसर्थ, विश्व शान्ति तथा युक्रेनी जनताका सुरक्षा, आधारभूत अधिकार र शान्तिपूर्वक बाँच्न पाउने अधिकारका लागि वार्ताद्वारा यस युद्धको समाधान खोजियोस् भनी नेपाल सरकार, राष्ट्रसंघ तथा विश्व समुदायसमक्ष निगरानी समिति जोडदार अपिल गर्दछ,’ विज्ञप्तिमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *