फ्रान्सेली स्की पर्वतारोही पियरे डोलोको कञ्चनजंघा हिमाल आरोहणका क्रममा मृत्यु

फ्रान्सेली स्की पर्वतारोही पियरे डोलोको ताप्लेजुङस्थित कञ्चनजंघा हिमाल आरोहणका क्रममा मृत्यु भएको छ।

शुक्रबार बिहान १० बजे  साे हिमाल आरोहणका क्रममा उनलाई अचानक हृदयघात भएको थियो। त्यसपछि उनलाई तत्काल हेलिकप्टरमार्फत उद्धार गरेर उपचारका लागि दिउँसो ३ः३० बजे काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पताल ल्याइएको थियो।

पर्वतारोही पियरेको सोही अस्पतालमा उपचारका क्रममा अपराह्न ४ः१५ बजे मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

पर्वतारोही पियरेको निधनप्रति फ्रान्सेली पर्वतारोहण र आरोहण महासंघ (एफएफएमई)ले दुःख व्यक्त गर्दै उनका परिवारजनमा समवेदना व्यक्त गरेको छ।

पेशाले नर्स रहेका पियरे एक सफल स्की पर्वतारोही थिए। उनी टार्बेसको फ्रेन्डशिप एण्ड नेचर क्लबको लामो समयसम्म सदस्य थिए भने सन् २००० को प्रारम्भमा एफएफएमईको निर्देशक बोर्डमा बसेर र स्की पर्वतारोहण खेल समितिको अध्यक्षको रूपमा उनले काम गरेका थिए।

पियरेले सन् २००८ मा अन्तर्राष्ट्रिय स्की पर्वतारोहण महासंघ (आईएसएमएफ) को स्थापनामा पनि सक्रियतापूर्वक सहभागिता जनाएका थिए। उनका प्राथमिकताहरूमध्ये स्की पर्वतारोहणको लागि ओलम्पिक सपना र खेलकुदमा लैङ्गिक समानता मुख्य रहेको एफएफएमईले आफ्नो शोक वक्तव्यमा उल्लेख गरेको छ।

उनको शव पोष्टमार्टमका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको काठमाडौं प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर