यी तीन निर्वाचन चिह्न फेरिए

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्धारण गरेको निर्वाचन चिह्नमा हेरफेर गरेको छ । आयोगका उपसचिव एवम् सहायक प्रवक्ता कमल भट्टराईले शनिबार विज्ञप्ति जारी गर्दै निर्वाचन प्रयोजनका लागि निर्धारित चिह्नमध्ये तीनवटा निर्वाचन चिह्नमा सामान्य हेरफेर गरेको जानकारी दिए ।

आयोगले हाम्रो नेपाली पार्टीको निर्वाचन चिह्न लौरो, स्वतन्त्र उम्मेदवारको डोजर र क्रस खुकुरी निर्वाचन चिह्नमा हेरफेर गरेको हो ।

विज्ञप्तिमा लेखिएको छ, ‘‘निर्वाचन निर्देशिका, २०७९ को अनुसूची २९ को क्रम सङ्ख्या १३ मा रहेको हाम्रो नेपाली पार्टीको निर्वाचन चिह्न लौरो र अनुसूची–३० को खण्ड (क) मा रहेका स्वतन्त्र उम्मेदवारको लागि निर्धारित निर्वाचन चिह्नअन्तर्गत डोजर र क्रस खुकुरी निर्वाचन चिह्नमा समेत हेरफेर गरिएको छ ।’’

आयोगको असोज २७ गतेको निर्णयअनुसार प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा ८७ ले दिएको अधिकार प्रयोग गरी ती निर्वाचन चिह्नको अनुसूचीमा हेरफेर गरिएको हो ।

आयोगको अभिलेखमा रहेको निर्वाचन चिह्नको नाम र चिह्नमा केही भिन्नता देखिएको र आयोगमा रहेको अभिलेख र निर्देशिकामा रहेको विवरणबीच भिन्नता पाइएकाले उक्त निर्णय गरिएको जानकारी सहायक प्रवक्ता भट्टराईले दिए । उनले हेरफेर गरिएका निर्वाचन चिह्नसहितको विवरण आयोगको वेब साइटमा राखिएकोे बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर