दाङमा खाल्डोमा गाडेको अवस्थामा किशोर–किशोरीको शव फेला

दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँमा बस्दै आएका किशोर–किशोरीको शव आइतबार दिउँसो फेला पर्‍याे।

प्रहरीका अनुसार दमार गाउँ बस्ने १५ वर्षीया रोशनी महतरा र सोही गाउँमा मामा घरमा बस्दै आएका दंगीशरण गाउँपालिका–६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव भेटिएको हो। खाल्डोमा पुरेको अवस्थामा उनीहरूको शव भेटिएको छ।

उनीहरू चार दिनअघि (असोज २७ गते रातिदेखि) घरबाट हराएका थिए। २८ गते किशोर आचार्यकी हजुरआमाले प्रहरीमा नाती हराएको भन्दै खोजी गरिदन भनेकी थिइन्। २८ गते दुवै जना घर नफर्किएपछि २९ गते खोजीकार्य सुरु भएको थियो।

खोजतलास गर्दै जाँदा चार दिनपछि दुबै जनाको शव दमार गाउँको सामुदायिक वनमा एउटै खाडलमा गाडेको अवस्थामा स्थानीयले फेला पारेका हुन्।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–१३ का अध्यक्ष मोहन पौडेलका अनुसार २८ गते मध्यरातमा केटीका गाउँका स्थानीयले बचाऊ, बचाऊ भनेको अवाज सुनेका थिए।

‘२७ गते राति केटा घरबाट निस्किएका थिए भन्ने छ। भोलिपल्ट (२८ गते बिहान) केटी पनि घर थिइनन् भन्ने जानकारी आएको छ,’ वडाध्यक्ष पौडेलले भने, ‘२७ गते मध्यरातमा केटीका गाउँकाले जंगलमा बचाऊ, बचाऊको आवाज सुनेका थिए रे।’

पौडेलले दुबै जना हराएको खबरपछि २९ गतेदेखि नै उनीहरूको खोजी गरिएको बताउँदै आइतबार दिउँसो दमार गाउँको जंगलको एक खोल्सामा गाडेको अवस्थामा दुबै जनाको शव फेला परेको जानकारी दिए। जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले घटना शंकास्पद रहेको बताए।

किशोर–किशोरी दुबै जना दमार गाउँकै अम्बिकेश्वरी माध्यमिक विद्यालय अम्बापुरमा कक्षा ९ मा पढ्दै आएका थिए। किशोरीका आमाबुवा कामको सिलसिलामा भारतमा बस्दै आएका छन्। किशोर सानै उमेरदेखि मामाघरमा बस्दै आएका थिए।

घटनाका बारेमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर वलीसहित इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरीको टोली खटिएको छ। दुबै जनाको शवलाई राप्ती प्रादेशिक अवस्पतालमा ल्याउने तयारी भइरहेको छ।

उक्त घटनास्थल तुलसीपुर बजारदेखि दक्षिणतर्फ पर्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर