कांग्रेसबाट आमनिर्वाचनमा १७ प्रतिशत नयाँ र जुझारु अनुहार

गठबन्धनको कम सीटमा प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गर्न लागेको नेपाली कांग्रेसमा करिब १७ प्रतिशत नयाँ उम्मेदवारले अवसर पाएका छन् । कांग्रेसले १ सय ६५ स्थान मध्ये ९१ स्थान प्राप्त गरेको छ ।

कांग्रेसले उम्मेदवार बनाएका ९१ जनामध्ये १५ जना नयाँ नेताले अवसर पाएका छन् । कांग्रेसका पदाधिकारी उपाध्यक्ष धनराज गुरुङदेखि २८ वर्षका युवा योगेश गौचनदेखि मोहम्मद फिरदोस आलमसम्मले पहिलो पटक चुनाव लड्दै छन् । पार्टीले सर्वसहमत चयन गरेकाे यी उम्मेदवारकाे जीत सहज रहेकाे विश्लेषण गरिएकाे छ ।

उप सभापति गुरुङ स्याङ्जा २ बाट प्रतिस्पर्धा गर्दै छन्। जसमा एमालेकी सचिव पद्मा अर्याल उम्मेदवार रहेकी छिन् । अर्यालले २०७४ सालमा भएको चुनावमा कांग्रेसका नेता गोपालमान श्रेष्ठलाई पराजित गरेकी थिइन् ।

पहिलो प्रतिनिधिसभा चुनाव लड्नेमा अर्बपति विनोद चौधरी, सहायक महामन्त्री किशोरसिंह राठौर, विना विभागिय राज्यमन्त्री उमेश श्रेष्ठ, केन्द्रिय सदस्यहरु प्रदीप पौडेल र श्याम घिमिरे,राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेल, गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर सन्तोष चालिसे,ज्ञानबहादुर गाहा, इलाम जिल्लाका सभापति डम्बर खड्का, कास्की जिल्ला सभापति किशोर दत्त बरालसहितका नेताहरु रहेका छन् ।

चौधरीले पश्चिम नवलपारासी १ बाट प्रतिस्पर्धा गर्दै छन् । उनको प्रतिस्पर्धा जनता प्रगतिशील पार्टी अध्यक्ष हृदेयश त्रिपाठीसँग हुने छ । एमालेको समर्थन रहेका त्रिपाठी सो क्षेत्रका निवर्तमान सांसद हुन् । यसअघि उनले एमालेको चुनाव चिन्हबाट प्रतिस्पर्धा गरेका थिए ।

सह महामन्त्री राठौर बाँके ३ मा एमालेका किस्मत कक्षपतीसँग प्रतिस्पर्धा गर्दैछन् । विना विभागीय राज्यमन्त्री श्रेष्ठको प्रतिस्पर्धा एमालेका कृष्णभक्त पोखरेल र नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेसँग रहेको छ ।

पोखरेल दुई पटक सो निर्वाचन क्षेत्रबाट चुनाव जितेका नेता हुन भने टेलिभिजन छाडेर राजनीतिमा किस्मत अजमाउन गएका लामिछाने सो क्षेत्रमा उम्मेदवार बनेका हुन् । टुरिष्ट उम्मेदवारको आरोप लागेपछि लामिछानेले चितवन २ मै घर समेत किनेका छन् ।

त्यसैगरी प्रदीप पौडेलले काठमाडौ ५ बाट प्रतिस्पर्धा गर्दै छन् । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग उनको प्रतिस्पर्धा रहेको छ। नेविसंघका पूर्व अध्यक्ष समेत रहेका पौडेललेसँग स्वतन्त्र उम्मेदवार रञ्जु दर्शना पनि प्रतिस्पर्धामा रहेकी छिन् । यसअघिका दुई निर्वाचनमा पराजित भए एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले २०७४ सालको चुनाव जितेका थिए ।

केन्द्रीय सदस्य घिमिरेलाई सिन्धुली १ बाट टिकट दिइएको छ । उनको प्रतिस्पर्धा एमालेका प्रदीप कटवालसँग हुनेछ । २०६४ सालको चुनावमा माओवादीले जितेको सो क्षेत्रबाट पछिल्लो दुई चुनावमा एमालेका उम्मेदवार गणेश पहाडी विजयी भएका थिए ।

इलामका सभापति खड्का संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसँग क्षेत्र नम्बर २ मा प्रतिस्पर्धा गर्दैछन् । त्यसैगरी कास्कीका सभापति बराल एमालेका मानबहादुर गुरुङसँग प्रतिस्पर्धा गर्ने छन् । मुस्ताङका गौचन र रौतहट २ बाट कांग्रेस टिकट पाएका आलमको भने पिताको स्थानमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

योगेशका पिता रोमी सो क्षेत्रमा यसअघि सांसद रहेका थिए भने फिरदोस जेल परेका कांग्रेस नेता मोहम्मद आफताव आलमका छोरा हुन् ।

ज्ञानबहादुर गाया पाल्पा १ बाट एमालेका नारायण आचार्यसँग प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *