प्रहरी दिवसमा महानिरीक्षक सिंहको सन्देश- ‘परम्परागत पद्धति र प्रविधिको प्रभावकारी मिश्रणमा काम गर्नू’

नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले नयाँ चुनौतीलाई अवसरमा बदल्न परम्परागत पद्धति र प्रविधिको प्रभावकारी प्रयोगको मिश्रणमा काम गर्नुपर्ने बताएका छन् ।

६७ औं प्रहरी दिवसको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै महानिरीक्षक सिंहले छिटो, छरितो र गुणस्तरीय सेवाका लागि नयाँ प्रविधिको प्रयोग आवश्यक भएको बताए ।

‘प्रहरी प्रति जनताको अपेक्षाको बढोत्तरीसँगै हर चुनौतीलाई अवसरमा बदल्न सक्षम प्रहरी आजको आवश्यकता हो,’ शुभकामना सन्देशमा भनिएको छ ‘यो आवश्यकता पूर्तिका लागि परम्परागत पद्धतिलाई अक्षुण्ण राख्दै प्रविधिसँग प्रभावकारी मिश्रण गरि छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गरिनुपर्छ ।’

विकसित घटनाक्रमसँग अद्यावधिक भई त्यसको प्रभावबाट पर्नसक्ने असरहरुको पूर्वआँकलन गरी क्षतिलाई निस्तेज तथा न्यूनीकरण गर्नसक्ने गरि स्रोत साधनबाट सुसज्जित प्रहरी र उच्चस्तरीय तालिम संगठनको प्राथमिकता रहेको शुभकामना सन्देशमा भनिएको छ ।

‘हामीले केही वर्षदेखि योजनावद्ध भएर लक्ष्य निर्धारण सहितको कार्यसम्पादन केन्द्रित हुने प्रणालीको थालनी गरेका छौं’ सिंहले भनेका छन्, ‘यसको उपलब्धीमा बढोत्तरी हुनुका साथै लक्ष्य प्रप्तिमा सकारात्मक संकेत देखाइसकेको छ ।’ नेपाल प्रहरीको स्थापना दिवस २०१२ मा प्रहरी ऐन जारी भएको मितिलाई आधार मानेर प्रहरी दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *