तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेललाई चुनाव जित्न सहज

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्यका लागि सातौं पटक चुनावी मैदानमा छन् । उनको प्रतिस्पर्धा आफ्नै पुराना सहकर्मी गोविन्दराज जोशी र एमालेका एकबहादुर रानासँग हुँदैछ । गठबन्धनका कारण पौडेललाई यस पटक चुनाव जित्न सहज देखिन्छ ।

२०४८ मा तनहुँ–१ बाट निर्वाचित पौडेल ०५१ मा भने तनहुँ–२ बाट विजयी भए । त्यसपछि लगातार तीन पटक (०५६, ०६४ र ०७०) उनले तनहुँ–२ बाटै जिते ।

पाँच पटक जित हासिल गरेका उनलाई छैटौं पटक भने धक्का लाग्यो । मुलुक संघीय संरचनामा गएसँगै तनहुँमा दुईवटा मात्रै निर्वाचन क्षेत्र कायम भयो । ०७४ मा तनहुँ–१ बाट उम्मेदवारी दिएका पौडेल एमालेका कृष्णकुमार श्रेष्ठ (किसान) सँग ६ हजार मतान्तरले पराजित भए । श्रेष्ठ हाल एकीकृत समाजवादीमा छन् । उनी सत्ता गठबन्धनबाट बारा–४ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन् ।

०७४ मा पौडेलविरुद्ध कांग्रेसका सहमहामन्त्री जोशीले बागी उम्मेदवारी दिएका थिए । तर, उच्च अदालतमा चलिरहेको भ्रष्टाचार मुद्दालाई प्रमुख कारण बनाई पौडेलकै उजुरीमा जोशीको उम्मेदवारी खारेज भएको थियो । जोशीले श्रेष्ठलाई जिताउन सहयोग गरेको भन्दै पार्टीले उनलाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

यस पटक पनि जोशीको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्चमा रिट परेको थियो तर त्यसलाई सर्वोच्चले खारेज गरिदिएको छ ।

यस पटक गठबन्धन भएका कारण पौडेललाई चुनाव जित्न केही सहज हुने चर्चा राजनीतिक वृत्तमा छ । पौडेल पनि अन्य पार्टीको सहयोगमा निर्वाचित हुने दाउमा छन् । केन्द्रको राजनीतिमा बलियो पहुँच बनाएका र त्यागी नेताका रूपमा चिनिने पौडेलको जित सुनिश्चित रहेको तनहुँका कांग्रेस नेता कार्यकर्ता बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर