सिन्धुपाल्चोक–२ मा कांग्रेसका पूर्वमन्त्री मोहन बस्नेत बलिया उम्मेदवार

सिन्धुपाल्चोक क्षेत्र नं. २ मा दुई जना पूर्वमन्त्री प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन् । पूर्वमन्त्रीद्वय कांग्रेसका मोहनबहादुर बस्नेत र एमालेका शेरबहादुर तामाङ मुख्य चुनावी प्रतिस्पर्धामा छन् ।

अघिल्लो आमनिर्वाचनमा यस क्षेत्रमा कांग्रेसको उम्मेदवार नै थिएन । कांग्रेसको समर्थनमा उठेका राप्रपा पूर्वअध्यक्ष पशुपतिशमसेर राणा एमालेका पूर्व कानूनमन्त्री तामाङसँग पराजित भएका थिए । तामाङले ३८ हजार र राणाले ३१ हजार मत ल्याएका थिए ।

कांग्रेसमा प्रभावशाली मानिने नेता बस्नेत आफ्नो क्षेत्र बदलेर २ मा आएकाले यस क्षेत्रका कांग्रेसी नेता तथा कार्यकर्ता खुबै उत्साहित छन् । यस पटक गठबन्धनको साथमा क्षेत्र परिवर्तन गरेर मैदानमा आएका कांग्रेसका बस्नेत एमालेका तामाङका लागि ठूलो चुनौती हुन् ।

२०३४ सालमा १४ वर्षको उमेरमा नेविसंघको विद्यार्थी नेता बनेर भूमिगत, तीन महिना निर्वासन, एक वर्ष बन्दी र तरुण दस्ताको अगुवा बनेका बस्नेत ०५३ सालदेखि अहिलेसम्म कांग्रेसको केन्द्रीय सदस्य छन् । ०५३ देखि ०७२ सालसम्म चार पटक नेपाली कांग्रेस जिल्ला सभापति भएका बस्नेत ०४६ सालमा बहुदलपछिको पहिलो आमनिर्वाचनमा क्षेत्र १ बाट सांसदको बलियो उम्मेदवार बनेका थिए ।

त्यसयता ०४८, ०५६ ,०६४, ०७० ,०७४ सालमा सिन्धुपाल्चोक १ बाट प्रतिनिधिस भामा प्रत्यक्ष उम्मेदवार बने, ०५६ र ०७० सालमा मात्रै प्रतिनिधि सभा सांसद जित्न सके । ०५८ सालमा केन्द्रीय स्वास्थ्य राज्यमन्त्री, ०७४ सालमा सूचना तथा सञ्चारमन्त्री भएका ६४ वर्षका बस्नेतलाई विपद्मा सक्रिय र काम गर्ने विकासे नेताको रूपमा चिनिन्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *