सर्लाहीमा सहकारीका कर्मचारीमाथि गोली प्रहार

सर्लाहीमा सहकारी संस्थाका कर्मचारीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ।

मंगलबार बिहान ११ः१५ बजे बागमती नगरपालिका–१ मिलन चोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी लालबन्दी नगरपालिका–२ जुटपानी बस्ने ३० वर्षीय साजन कार्कीमाथि कार्यालयमा काम गरिरहेको अवस्थामा गोली चलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डीएसपी विजय यादवले जानकारी दिए।

डीएसपी यादवका अनुसार भारतीय नम्बर प्लेटको नीलो रङको मोटरसाइकलमा सवार तीन जना अपरिचित व्यक्तिको समूहले कार्कीमाथि तीन राउण्ड गोली प्रहार गरेका थिए। गोली प्रहार गर्ने व्यक्तिहरू फरार छन्।

कार्कीको दाहिने पाखुरा, दाहिने कोखा, देब्रे कोखा र दाहिने तिघ्रामा गोली लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइते कार्कीलाई हरिवनस्थित सरस्वती अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

गोली प्रहारपछि फरार रहेका व्यक्तिहरूको जिल्लाभरिका सबै प्रहरी इकाइहरूबाट प्रहरी टोली खटाएर खोजी भइरहेको डीएसपी यादवले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *