डडेल्धुरामा सेनाको ट्रक दुर्घटना, ७ सैनिक घाइते

डडेल्धुरामा शुक्रबार बिहान नेपाली सेनाको ट्रक दुर्घटनामा परेको छ। दुर्घटनामा ७ जना सैनिक घाइते भएका छन्।

चालक भैरव गण दिपायल डोटीमा कार्यरत हुद्दा देवबहादुर चौधरीले चलाएको बा १ ग २४५३ नम्बरको नेपाली सेनाको ट्रक ब्रेकफेल भई र्दुघटना भएको हो। कोहलपुरबाट दिपायलतर्फ जिन्सी सामान लैजाँदै गरेको ट्रक डडेल्धुराको अमरगढी नगरपालिका–११ धनढुङ्गास्थित केआई सिंह राजमार्गमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परेको ट्रक सडकको दाहिनेपट्टि पल्टिँदा ट्रकमा सवार चालक देवबहादुर चौधरीलगायत ७ जना सेना घाइते भएको प्रहरी चौकी स्याउलेले जनाएको छ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ सो प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको ६ जना प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाएको छ।

घाइतेमध्ये ३ जनाको अवस्था मध्यम र ४ जनाको अवस्था सामान्य रहेको छ।

प्रहरीका अनुसार घाइते ७ जनामध्ये सहसेनानी रामशरण बोगटीको बायाँ हात र बायाँ खुट्टा, प्युठ अनिल बुचाको बायाँ हात, कम्मर र टाउको सिपाही बुद्धी खत्रीको दाहिने हात, टाउको र दाहिने खुट्टामा चोट लागेको छ र उनीहरू तीनकाे अवस्था मध्यम छ।

यस्तै चालक हुद्दा देवबहादुर चौधरीको हात, हुद्दा सरोज नेपालीको दाहिने हात, अमल्दार नरेन्द्र सिंहको दुवै खुट्टा, कम्मर र टाउको, अमल्दार पिताम्बर कुँवरको कम्मरमा चोट लागेको छ र उनीहरू चारको अवस्था सामान्य छ।

दुर्घटनामा परेको ट्रकको दाहिनेपट्टि सामान्य क्षति पुगेको छ। घटनास्थल प्रहरी चौकी स्याउलेबाट अन्दाजी ९ किलोमिटर उत्तर–पूर्वमा पर्दछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर