आउँदो चुनाव संविधान रहने कि नरहने भन्ने विषयसँग जोडिएको छ : प्रधानमन्त्री देउवा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान, लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता बचाउन र विकास तथा समृद्धिका लागि पाँच दलीय गठबन्धन बनेको बताएका छन् ।

पाँच दलीय गठबन्धन दलद्वारा आइतबार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय संयुक्त प्रशिक्षण भेलामा प्रधानमन्त्री देउवाले आउँदो चुनाव संविधान रहने कि नरहने तथा सङ्घीयताको संस्थागत विकास हुने नहुने विषयसँग जोडिएकोले संविधान र सङ्घीयताका पक्षमा एकताबद्ध भएर लाग्न निर्देशन दिए । प्रधानमन्त्री देउवाले गठबन्धनलाई पूर्ण रूपमा अगाडि बढाउँदै चुनावपछि पनि गठबन्धनकै सरकार र गठबन्धनकै वर्चश्व हुनेगरी लाग्न निर्देशन दिए ।

देउवाले भने, “देशको विकास र समृद्धिका लागि गठबन्धन आवश्यक छ, पाँच दलीय गठबन्धनको मर्मअनुसार हिँड्न जरुरी छ ।” प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशबाट अघिल्लो निर्वाचनमा कांग्रेसको तर्फबाट आफू एक जनामात्र विजयी भएको प्रसङ्ग उल्लेख गर्दै अहिले गठबन्धनमा रहेका दलहरूको सहयोगमा आफू प्रधानमन्त्री बन्न पाएको उल्लेख गरे ।

उनले गठनबन्धन गरेर चुनावमा जानुपर्ने परिस्थितिमा आउने चुनावमा सबैलाई टिकट दिने स्थिति नरहेको बताउँदै अहिले टिकट नपाएर अन्यायमा परेको भनिएकालाई चुनावपछि बन्ने गठबन्धनको सरकारले नयाँ अवसर दिने अश्वासन दिए ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशिष्ट परिस्थितिमा गठबन्धन निकै ठूलो सङ्घर्षपछि बनेको भन्दै संविधान, लोकतन्त्र, समावेशी समानुपातिकको उपलब्धि धरापमा पर्ने खतरा पैदा भएकोले संविधान, लोकतन्त्र, परिवर्तनको रक्षा गर्दै देशलाई विकास र समृद्धिमा लैजान गठबन्धन गरिएको बताए ।

अहिले देशमा अर्को पनि गठबन्धन बनेको उल्लेख गर्दै उनले भने, “त्यसको विचार उद्देश्य, संस्कार, संस्कृति छ, त्यसले कहीँ न कहीँ यो संविधानलाई डिरेल गर्ने, गणतन्त्रलाई उल्ट्याउने र सङ्घीयतालाई कमजोर पार्ने छ, त्योसँग हाम्रो बहस भइरहेको छ ।”

देशमा सात सालदेखि महत्त्वपूर्ण राजनीतिक परिवर्तन भए पनि राजनीतिक परिवर्तनसँगै आर्थिक परिवर्तन र सुशासनका लागि गर्नुपर्ने काम नहुँदा केही वर्षपछि राजनीतिक परिवर्तन पातलिँदै जाने र जनतामा निराशा बढ्दै गएको देखिएको भन्दै उनले भने, “यो गठबन्धन विजयी भएपछि आर्थिक विकास र समृद्धिको यात्रालाई अघि बढाएर राजनीतिक परिवर्तनलाई दिगो बनाउन सकिन्छ ।”

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनमा आबद्ध दलले समयमै कदम नचालेको भए राजनीतिक परिवर्तनपछि प्राप्त उपलब्धि सकिएर देश पश्चगमनमा जाने खतरा रहेको बताए । पाँच दलीय गठबन्धनको प्राकृतिक र पवित्र उद्देश्य रहेको भन्दै उनले भने, “अपवित्र उद्देश्य राखेर गरिने गठबन्धन अस्वाभाविक रहेको छ ।”

राजनीति, राज्यसत्ता, समाज र पार्टीमा रहेका विकृति विसङ्गति हटाउन गठबन्धन बनाउनु परेको बताउँदै नेपालले भने, “लोकतन्त्र र गणतन्त्रमा अझै खतरा रहेकोले आउने चुनावमा प्रतिगामी शक्तिलाई पराजित गरेर अग्रगमनकारी शक्तिलाई विजयी बनाउनुपर्छ ।”

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानलाई क्षतविक्षत् पार्ने प्रपञ्चकाविरुद्धमा यसको रक्षाका निम्ति यो गठबन्धन अभियान थालिएको बताए ।

उनले भने, “यो चुनावी अभियान मात्र नभइ राष्ट्रलाई सङ्कटबाट जोगाउने संविधान र परिवर्तनलाई रक्षा गर्ने महाअभियान हो ।” उनले संविधानमाथि भइरहेको आक्रमणमा गम्भीर र सचेत हुनुपर्ने बताए ।

राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले संविधानको रक्षाका लागि गठबन्धन भएको बताए । उनले प्रतिगमनको खतरा देखिएपछि आफ्नो पार्टी गठबन्धनमा लागेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर