कात्तिक १८ देखि उम्मेदवारले र्‍याली र गोष्ठी गर्न पाउने

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारहरूले यही कात्तिक १८ गतेदेखि मंसिर २ गतेसम्मको अवधिमा कोणसभा, आमसभा, र्‍याली, गोष्ठी, सेमिनार गरेर निर्वाचन प्रचारपसार गर्न पाउने बताएका छन् ।

आइतबार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा सञ्चारमाध्यमको भूमिका विषयक प्रदेशस्तरीय कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कात्तिक ५ देखि १८ गतेसम्मको अवधि उम्मेदवारहरूलाई घरदैलो कार्यक्रम गर्ने समयको भएको भन्दै कोणसभा, आमसभा, र्‍याली, गोष्ठी, सेमिनार लगायतका प्रचारबाजी गर्न नहुने बताए । उनले उम्मेदवारको प्रचारबाजीका लागि आयोगले निश्चित समय सीमा तोकेकाले समयसीमाभित्र रहेर उम्मेदवारले प्रचारप्रसार गर्न उचित हुने बताए ।

आयुक्त भण्डारीले यसअघि आयोगले मौन अवधिको अभ्यास गर्दै आएपनि मौन अवधि भनेर ऐन, नियमको कुनै पनि ठाउँमा नदेखिएको भन्दै यसपटक संविधान, ऐन र नियमले नदेखेको, नचिनेको मौन अवधिको समयलाई हटाएको बताए । उनले सञ्चारजगत र निर्वाचन आयोग एउटै सिक्काका दुईवटा पाटा भएर अघि बढ्ने हो भने निर्वाचनमा हुने जोखिमलाई कम गर्न सकिने बताए ।

आयुक्त भण्डारीले आगामी निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारमाध्यमको भूमिका उल्लेखनीय रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर