शान्ति मिसनमा महिला सैनिकको सहभागिता बढाउँछौं : प्रधानसेनापति शर्मा

संयुक्त राष्ट्रसंघ स्थापना दिवसको अवसर पारेर विश्व शान्ति स्थापना कार्यमा नेपाल र नेपाली सेनाको सहभागिता तथा योगदानको स्मरण एवं भविष्यमा नेपाली शान्ति सैनिकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यअनुरूप आइतबार सैनिक मुख्यालय जङ्गी अड्डामा नेपाली सेनाले एक दिने अन्तर्राष्ट्रिय सेमिनार आयोजना गरेको छ।

नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीको प्रमुख आतिथ्यमा सेमिनार सञ्चालन भएको हो। मुख्यसचिव बैरागीले उद्घाटनको गरेको सेमिनार प्रधानसेनापति प्रभुराम शर्माले समापन गरेका थिए।

प्रधानसेनापति शर्माको स्वागत मन्तव्यसहित प्रारम्भ भएको उक्त सेमिनारमा मुख्यसचिव बैरागीले उद्घाटन मन्तव्य राखेका थिए। साथै उक्त सेमिनारमा विश्व शान्ति स्थापनामा नेपाली सेनाले पुर्‍याएको योगदान तथा उपलब्धिहरू समेटी तयार पारिएको कफी टेबल बुकको प्रधानसेनापति शर्मा र विशेष अतिथिसंयुक्त राष्ट्रसंघ मुख्यालयको सैन्य मामिला कार्यालयका सैनिक सल्लाहकार जनरल बिरामे डिओपले संयुक्त रूपमा विमोचन गरेका थिए।

उक्त सेमिनारको उद्घाटन सत्रमा मन्तव्य राख्दै मुख्यसचिव बैरागीले नेपाली सेनालाई संयुक्त राष्ट्रसंघ स्थापना दिवसको उपलक्ष्यमा संयुक्त राष्ट्रसंघका विज्ञ स्वदेशी तथा विदेशी सम्मिलित अन्तर्राष्ट्रिय सेमिनार आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे। उनले संयुक्त राष्ट्रसंघ स्थापनाको ७७ वर्ष पुगेको साथै राष्ट्रसंघमा नेपालको ६० वर्ष लामो सदस्यता तथा विश्व शान्ति स्थापनामा नेपालको ६४ वर्ष लामो सहभागिताको स्मरण गराए।

उनले सन् १९५५ बाट संयुक्त राष्ट्रसंघको सदस्य भएदेखि नै संयुक्त राष्ट्रसंघ नेपालको विकासका लागि एक महत्वपूर्ण साझेदारको रूपमा रहेको तथा संयुक्त राष्ट्रसंघ र यसका एजेन्सीहरूले अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त सहस्राब्दी विकास लक्ष्य तथा दिगो विकास लक्ष्य हासिल गर्ने प्रयासहरूमा पुर्‍याएको योगदानको खुलेर प्रशंसा गरे।

मुख्यसचिव बैरागीले नेपालद्वारा संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा महत्त्वपूर्ण सहभागिता र योगदानमार्फत विश्व शान्ति कायम गराउन नेपाली शान्ति सैनिकहरू एकदमै छोटो जानकारीमा नै बिना कुनै हिचकिचाहट संसारका ज्यादै चुनौतीपूर्ण परिस्थिति तथा स्थानहरूमा खटिई आफूलाई व्यावसायिक, दक्ष, समर्पित र भरपर्दो शान्ति सैनिकको रूपमा ख्याती र प्रतिष्ठा कमाउन सफल रहेको उल्लेख गरे। उनले भविष्यमा पनि विश्व शान्ति स्थापनार्थ शान्ति सैनिकहरूको दक्षता अभिवृद्धिलाई प्राथमिकता दिई महिला शान्ति सैनिकहरूको संख्या वृद्धि गर्दै संयुक्त राष्ट्रसंघको आवश्यकता अनुसार दश हजार जनासम्म शान्ति सैनिकहरू खटाउन नेपाल सरकार कटिबद्ध रहेको उल्लेख गरे।

उनले विश्व शान्ति स्थापनार्थ हाल नेपाल तेस्रो ठूलो फौज खटाउने मुलुक रहेको तर सीमित मात्रामा नेतृत्व तहमा सहभागीता रहेको हुँदा भविष्यमा त्यस्तो सहभागिता वृद्धि हुन जरुरी रहेको बताए। उनले विश्व शान्ति स्थापनार्थ शहादत प्राप्त गर्ने शान्ति सैनिकका परिवारहरूप्रति समवेदना प्रकट गर्दै घाइते शान्ति सैनिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।

उक्त सेमिनारमा स्वागत तथा समापन मन्तव्य राख्दै प्रधानसेनापति शर्माले उक्त सेमिनारमा भाग लिन आएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अतिथिहरूलाई कृतज्ञता जाहेर गर्दै धन्यवाद दिए। उनले विश्व शान्ति स्थापनार्थ आफ्नो जीवन आहुति दिने वीर शान्ति सैनिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली शान्ति सैनिकहरूले विश्व शान्ति स्थापनार्थ जटिल वातावरण र चुनौतीका बाबजुद सदैव आफूलाई अब्बल सावित गरी अन्तर्राष्ट्रिय जगतमा ख्याती कमाउन सफल भएको उल्लेख गरे।

प्रधानसेनापति शर्माले विश्व शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरूको ६ दशक लामो सक्रिय संलग्नतामा नेपालले सदैव दक्ष, व्यावसायिक तथा विशेषज्ञ शान्ति सैनिकहरू प्रदान गर्दै आइरहनुका साथै संयुक्त राष्ट्रसंघको लैंगिक समानता रणनीति–२०२८ अनुरूप पछिल्ला केही वर्षहरूमा महिला शान्ति सैनिकहरूको सहभागितामा वृद्धि भएको र भविष्यमा समेत उक्त वृद्धि जारी रहने उल्लेख गरे। उनले नेपाली सेनाबाट संयुक्त राष्ट्रसंघ दिवसको विशेष कार्यक्रम आयोजना गरेको उल्लेख गर्दै उक्त विशेष सेमिनार भव्यताका साथ सफल पार्न सहयोग गर्ने नेपाल सरकार, नेपाल सरकारका सम्बद्ध मन्त्रालय, विदेशी मित्रराष्ट्रहरू, संयुक्त राष्ट्रसंघको मुख्यालयलगायत विदेशी एवं स्वदेशी विषय विज्ञहरूलाई कृतज्ञता व्यक्त गरे।

प्रधान सेनापति शर्माले संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेख भएअनुसार विश्व शान्ति तथा सुरक्षाको स्थापनार्थ नेपाली सेनाको कटिबद्धतालाई थप जोड दिँदै आयोजित सेमिनारले भविष्यमा शान्ति कार्यमा नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न सकिने थप सम्भावनाहरू उजागर गरेको बताए। शान्ति स्थापनामा खटिने सैनिकहरूको क्षमता अभिवृद्धिमा तालिमको महत्त्वलाई जोड दिँदै पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई उत्कृष्टता केन्द्रको रूपमा विकास गर्दै लगिने बताए।

उनले उक्त सेमिनारमा उठेका विषयवस्तुहरू, छलफल तथा सुझावहरूबाट विश्व शान्ति स्थापनार्थ शान्ति सैनिक योगदान गर्ने सम्पूर्ण राष्ट्रहरूलाई क्षमता अभिवृद्धिका लागि स्पष्ट अवधारणा बनाउन मद्दत पुग्ने विश्वास लिएको बताए।

नेपाली सेनाका अवकाशप्राप्त प्रधान सेनापतिहरू, रक्षासचिव किरणराज शर्मा, परराष्ट्रसचिव भरतराज पौड्याल, संयुक्त राष्ट्रसंघ मुख्यालयको सैन्य मामिला कार्यालयका सैनिक सल्लाहकार जनरल बिरामे डिओप तथा प्रतिनिधिहरू, बहालवाला तथा अवकाशप्राप्त रथीहरू, विभिन्न मन्त्रालयका सहसचिवहरू, विभिन्न राष्ट्रका राजदूतहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरू, नेपालस्थित विभिन्न राजदूतावासका सैनिक सहचारीहरू, नेपालस्थित संयुक्त राष्ट्रसंघको विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, नेपाली सेनाका अधिकृतहरू, परराष्ट्र मामिला अध्ययन तथा नेपाल नीति प्रतिष्ठानका प्रतिनिधिहरू, विषयविज्ञ तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको उक्त सेमिनारमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्याती कमाएका स्वदेशी तथा विदेशी व्यक्तित्वहरूले आ–आफ्नो प्रस्तुतीकरण गरेका थिए।

नेपाली सेनाद्वारा आयोजित यसप्रकारको सेमिनारले विश्व शान्ति स्थापना कार्यमा नेपाली सेनाले पुर्‍याएको योगदान तथा उपलधब्धहरू र भविष्यका लागि शान्ति सैनिकहरूको क्षमता वृद्धिको आवश्यकताका बारेमा सरोकारवाला निकायहरूलाई जानकारी प्राप्त हुनुका साथै नेपाली शान्ति सैनिकहरूको क्षमता अभिवृद्धिमा उक्त सेमिनार कोशेढुंगा सावित हुने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर