यस्तो छ सीको टिम, जसले गर्नेछ चीनमा आगामी पाँच वर्ष शासन

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले सात सदस्यीय स्थायी कमिटी चयन गरेको छ । पार्टी महासचिव तथा राष्ट्रपति सी चिनफिङ नेतृत्वको उक्त कमिटीले आगामी पाँच वर्ष चीनमा शासन गर्नेछ ।

सीपीसीको स्थायी कमिटी चीनमा राष्ट्रपतिको क्याबिनेट बराबर हुन्छ । कमिटीमा परेका चाओ ल र वाङ हुनिङबाहेक अरु चार जना सीप्रति बफादार मानिन्छन् । पार्टीभित्रै ठूलो आन्तरिक प्रतिस्पर्धापछि कमिटी चयन भएको हो । यस्तो छ सीको टिम सदस्यको राजनीतिक यात्रा :

ली छियाङ
६३ वर्षीय ली सांघाई प्रदेशका पार्टी सचिव हुन् । राष्ट्रपति सीको निकै विश्वासपात्र मानिने ली जुच्याङ प्रदेशमा पनि काम गरेका छन् । सीले प्रदेशको प्रमुख हुँदा ली उनको चिफ अफ स्टाफको रुपमा कार्यरत थिए ।

सांघाईमा कोभिडको प्रकोप हुँदा लीले लिएको निर्णय विवादमा परेको थियो । यसले उनको राजनीतिक भविष्यमा असर पर्न सक्ने आकलन गरिएको थियो । तर, यो नियुक्तिपछि सीप्रतिको बफादारिताले उनलाई राम्रो स्थान दिलाएको छ । सीपछि स्थायी कमिटीमा दोस्रो स्थानमा रहेका उनी चीनको आगमी प्रधानमन्त्री बन्ने सम्भावना छ ।

चाओ ल ची
६५ वर्षीय चाओ ल ची हाल पार्टीको अनुशासन निरीक्षणका लागि केन्द्रीय आयोगका प्रमुख छन् । उनी चिनियाँ नेतृत्वमा उदाउँदो व्यक्तित्व मानिन्छन् । चिंघाई प्रान्तको सरकारमा प्रवेश गरेसँगै उनी निकै छोटो समयमा नेतृत्वमा पुगे ।

उनी ४२ वर्षको उमेरमै प्रान्तको गर्भनर बने । सबैभन्दा कम उमेरमा प्रान्तीय गर्भनर बन्ने रेकर्ड उनले राखेका छन् । भ्रष्टाचारविरुद्धको निकायको प्रमुखमा रुपमा उनले कैंयौं वरिष्ठ अधिकारीलाई कारबाहीको दायरामा पनि ल्याएका छन् ।

वाङ हु निङ
६७ वर्षीय वाङ हु निङ कम्युनिस्ट पार्टी सचिवालयका प्रथम सचिव हुन् । उनी प्राध्यापकसमेत थिए । वरिष्ठ राजनेताको नजरमा आएपछि उनी पार्टीमा अगाडि आएका हुन् । उनलाई तत्कालीन राष्ट्रपति जियाङ जेमिनले आफ्नो सल्लाहकार बनाएका थिए ।

पार्टीको राजनीतिक सिद्धान्तकारको रुपमा वाङ परिचित छन् । धेरै कम्युनिस्ट पार्टी अवधारणको पछाडि उनको दिमाग रहेको मानिन्छ । जियाङ जेमिनको वैज्ञानिक दृष्टिकोण, हु जिन्ताओको विकास मोडल र सी चिनफिङको विचारधारामा वाङकै योगदान मानिन्छ । चीनको महत्वाकांक्षी बेल्ट एन्ड रोड इनिसिटिभ पनि उनकै योजना मानिने गरेको छ । पार्टीमा सबै गुटसँग उनको राम्रो सम्बन्ध पनि रहेको छ ।

छाङ छी
६६ वर्षीय छाङ छी बेइजिङका मेयर हुन् । सीका विश्वासपात्र मानिने छीले फुजियान र ज्युच्याङ प्रान्तमा चिनियाँ नेताहरुसँग काम गरेका थिए । यसै वर्ष कोरोनाकाल भए पनि बेइजिङमा शीतकालीन ओलम्पिक आयोजना गरेको आधारमा उनको प्रशंसा पनि हुने गरेको छ ।

तर, सन् २०१७ मा उनले सुरु गरेको एउटा योजना भने विवादमा परेको थियो । बेइजिङ सहरमा जनसंख्या अत्यधिक भएको भन्दै उनले कम आय भएका व्यक्तिलाई सहरबाट हटाउने योजना सुरु गरेका थिए, यो योजनाको आलोचना भएको थियो ।

तिङ स्युए सियाङ
६० वर्षीय तिङ स्युए सियाङ महासचिवको कार्यालय र राष्ट्रपति कार्यालयका निर्देशक हुन् । उनी इन्जिनियर पनि हुन् । तिङले आफ्नो राजनीतिक जीवनको सुरुवातमा सांघाईमा सरकारसँग सम्बन्ध अनुसन्धान केन्द्रमा काम थालेका थिए ।

यद्यपि उनीसँग प्रान्तीय पार्टी सचिव वा गर्भनर भएको अनुभवको कमी छ, जसलाई सत्तामा अगाडि बढ्न आवश्यक मानिन्छ । उनी सन् २००७ मा सीको सचिव बने । सन् २०१४ देखि उनी राष्ट्रपति कार्यालयको प्रमुख छन् । सी विचारधाराका प्रबल समर्थक तिङ उनका सबैभन्दा विश्वासिलो सहयोगी मानिन्छन् । उनी पछिल्लो समय सीसँग धेरै समय बिताउने अधिकारी पनि हुन् ।

ली सी
६६ वर्षीय ली सी ग्वाङदोङ प्रान्तका पार्टी सचिव हुन् । चिनियाँ नेताको परिवारसँग नजिकको सम्बन्ध भएका उनी सीका विश्वासपात्र मानिन्छन् । सन् २०१७ मा लियाओनिङ प्रान्तमा घोटाला घटना समाधान गर्न सफल भएकाले संकट समाधान गर्ने व्यक्तिको रुपमा चिनिन्छन् ।

उनी राजनीतिक रुपमा महत्वपूर्ण सहर यननमा पनि नेता थिए, जहाँ माओत्से तुङले दोस्रो विश्वयुद्धको क्रममा पार्टीको मुख्यालय राखेका थिए । यहाँ नै सीले आफ्नो सात वर्ष बिताएका थिए । ग्वाङदोङमा लीले उद्योग, विकार र आर्थिक सुधारमा जोड दिएका थिए । उनले नयाँ व्यापार नीतिहरु जारी गरेर क्षेत्रीय एकीकरणलाई पनि जोड दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *