लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरी सहायक हवल्दार पक्राउ

लागुऔषध ओसारपसारमा सहयोग गरेको आरोपमा एक जना प्रहरी सहायक हवल्दार पक्राउ परेका छन्। कैलाली कारागारमा लागुऔषध ओसारपसारमा सघाएको आरोपपछि प्रहरी सहायक हवल्दार अपिल भाट पक्राउ परेका हुन्।

३१ असोजमा धनगढी उपमहानगरपालिका– ७ हुलाकी राजमार्गको मनेहराबाट १३ ग्राम लागुऔषधसहित कैलारी गाउँपालिका–६ बस्ने ३३ वर्षीय यादवकुमार चौधरी पक्राउ परेका थिए। उनले सहायक हवल्दार भाटले आफूलाई लागुऔषध ओसारपसारमा सघाएको बयान दिएपछि भाट पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले प्रहरी सहायक हवल्दार भाटलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान भइरहेको पुष्टि गरे। कारागारमा आश्रित कैदीबन्दीका लागि लागुऔषध ओसारपसार गर्ने गरेको आरोपपछि पक्राउ परेका भाटलाई निलम्बन गरेर उनीमाथि अनुसन्धान भइरहेको जोशीको भनाइ छ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान ब्यूरोको टोलीले लागुऔषधसहित से ३ प २६८० नम्बरको मोटरसाइकलमा भारतबाट लागुऔषध ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेका चौधरीले प्रहरीसमक्ष उक्त लागुऔषध कारागारमा रहेका कैदी सन्तलाल डगौराका लागि ल्याएको बताएका थिए।

सोही क्रममा चौधरीले कारागारमा रहेका प्रहरी सहायक हवलदार भाटमार्फत चौकिदार बसन्त बुढा र सन्तोश शाही हुँदै डगौरासम्म पुर्‍याउने गरेको बयान दिएपछि उनीहरू अनुसन्धानमा तानिएका हुन्। बुढा र शाहीमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *