महोत्तरीको भङ्गाहा झडप छानबिनका लागि पाँच सदस्यीय समिति गठन

महोत्तरीको भङ्गाहा नगरपालिका–८ पडरिया बस्तीमा बिहीबार भएको झडपको घटना छानबिनका सरकारले छानबिन समिति गठन गरेको छ।

शुक्रबारको गृहमन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो।

समितिका सदस्यहरूमा प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराज मरासेनी रहेका छन्। समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ।

यसअघि शुक्रबार नै जिल्ला प्रशासन कार्यालय महोत्तरीले सो घटना छानबिनका लागि सरकारसँग उच्चस्तरीय छानबिन समिति गठनको माग गर्ने निर्णय गरेको थियो।

बिहीबार दिउँसो पडरियामा ‘हिन्दू सम्राट सेना’ नामक सङ्गठनले निकालेको र्‍यालीको क्रममा भागदौड मच्चिएको थियो । सङ्गठनको र्‍यालीमा अज्ञात व्यक्तिले लुकीछिपी घुँयत्रो र ढुङ्गा हानेपछि तनाव बढेको पडरियावासी बताउँछन् ।

सो स्थानमा धार्मिक सद्भाव भड्कन नदिन जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। उक्त घटना छानबिनका लागि गृह मन्त्रालयसँग उच्चस्तरीय छानबिन टोली गठनको माग गर्ने निर्णय भएको थियो।

त्यसैगरी घटनामा संलग्न दोषी पत्ता लगाई कानूनी प्रक्रियाबमोजिम कारबाही अगाडि बढाउने, परिस्थितिलाई काबुमा राख्ने तथा धार्मिक सद्भाव कायम गर्न सद्भाव र्‍याली गर्ने, दलगत रूपमा शान्ति कायम गर्न अपिल गर्नेलगायतका कार्य जिल्लामा क्रियाशील राजनीतिक दल र सामाजिक अगुवा संलग्न सर्वदलीय सर्वपक्षीय संयन्त्रले गर्ने निर्णय पनि प्रशासनले गरेको छ।

भङ्गाहा–८ पडरिया बस्तीमा बिहीबार भड्केको दङ्गा नियन्त्रण गर्न जिल्ला प्रशासनले पडरिया वरपर क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञा आज पनि जारी छ।

भङ्गाहा नगरपालिका–८ को दक्षिणमा पर्ने पडरिया बस्तीको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा पडरियाको ब्रह्मस्थान, उत्तरमा धर्मपुर बस्तीको दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिका–१ मा पर्ने बगडाचोक तथा पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म जिल्ला प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। यससम्बन्धमा थप अर्को आदेश जारी नभएसम्म घोषित क्षेत्रभित्र समूहमा हिँडडुल गर्न तथा बाहिरी क्षेत्रबाट सो क्षेत्रमा प्रवेश गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जारी गरेको आदेशमा उल्लेख छ।

बिहीबारको घटनालगत्तै पुगेको प्रहरी टोलीले भड्कँदो स्थिति नियन्त्रणमा लिन हवाई फायरसमेत गर्नुपरेको थियो। अहिले घटनास्थलमा ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

पडरियाको घटनापछि वरपरका अन्य बस्तीमा पनि साम्प्रदायिक सद्भाव बिगार्ने मनसायका तत्वले धार्मिक आस्थाका ठाउँमा अस्वाभाविक गतिविधि बढाएका छन्। अवस्था थप जटिल हुन नदिन प्रजिअ पहाडीले जिल्लाका सबै राजनीतिक दल, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि र आम नागरिकसँग अपिल गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर