ठमेलस्थित ‘बज डान्स बार’मा आगलागी, एक करोडको क्षति

काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित बज डान्स बारमा विद्युत् सर्ट भएर आगलागी भएको छ। आइतबार बिहान भएको आगलागीबाट एक करोड रुपैयाँ बढीको क्षति भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार बिहान ४ः२५ बजे ठमेलको नर्सिङ चोकस्थित आमोदराज भण्डारीको पाँच तल्ले घरको दोस्रो तल्लामा रहेको सो डान्स बारमा आगलागी भएको हो। आगलागी अहिले नियन्त्रणमा आइसकेको छ।

आगलागीबारे सूचना प्राप्त भएपछि प्रहरी वृत्त लैनचौरबाट क्विक रेस्पोन्स भ्यान (सीआरभी) र क्विक रेस्पोन्स टिम (सीआरटी)को टोली परिचालन गरी घटनास्थलमा दमकललाई स्ट्याण्डबाइ गरिएको थियो। लगत्तै सीआरभी टोलीको सूचनाअनुसार काठमाडाैं महानगरपालिकाको दमकल घटनास्थलमा परिचालन गरिएको थियो।

आगलागी नियन्त्रणका लागि बौद्ध रामहिटीबाट एक र काठमाडौं महानगरपालिकाबाट एक गरी दुईवटा दमकल र दुईवटा पानी ट्यांकर परिचालन गरिएको थियो।

प्रहरी वृत्त लैनचौरबाट प्रहरी निरीक्षकसहितको टोली, नगर प्रहरी कार्यालय भृकुटीमण्डप, विपद् व्यवस्थापनबाट प्रहरी निरीक्षकसहितको १०० जनाको प्रहरी टोली घटनास्थलमा परिचालित गरिएको थियो।

त्यस्तै सशस्त्र प्रहरी बल, नेपालबाट २५ जना सुरक्षाकर्मीहरू पनि परिचालन भएका थिए। अग्नि नियन्त्रक, उद्दारकर्मीहरूलगायतको लगातारको प्रयासबाट बिहान ५ः३५ बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीबाट जम्मा १ करोड ६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ। आगलागीमा मानवीय क्षति भने भएको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर