जनकपुर पुगेर आरजुले भनिन्, ‘गठबन्धनको जित सुनिश्चित छ’

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सत्तारूढ गठबन्धनको जित सुनिश्चित रहेको दाबी गरेकी छन्।

आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै डा. देउवाले गठबन्धनबाट अधिकांश बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका र आ–आफ्ना कार्यकर्ताले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न गठबन्धनमा आबद्ध पार्टीका नेता, स्थानीय तहका कार्यकर्ता तथा आम मतदाताहरू देशव्यापी रूपमा आतुर रहेकाले जित सुनिश्चित रहेको बताइन्।

वर्तमान सरकारले छोटै समयमा गरेका राम्रा कामका साथै नेपाली कांग्रेसजस्तो पुरानो प्रजातान्त्रिक शक्तिको नेतृत्वलाई नै नेपाली जनताले रुचाएकाले पनि आगामी निर्वाचनमा सत्तारूढ गठबन्धनको जित सुनिश्चित रहेको उनले दाबी गरिन्।

उनले नेपाली कांग्रेसले अहिलेको गठबन्धनको टिमलाई नै लिएर निर्वाचनपछि पनि अघि बढ्ने प्रण गरिसकेकाले यही टिमको भावनालाई बुझेर सबैले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरिन्।

उनले मुलुकमा लोकतन्त्रपछि प्राप्त उपलब्धिको रक्षा गर्न, संविधानको रक्षा गर्न तथा नागरिक स्वतन्त्रताको संरक्षणका लागि वर्तमान सत्ता साझेदार गठबन्धनका उम्मेदवारहरूले विजय हासिल गर्नुपर्ने धारणा पनि राखिन्। यो सरकार निर्माण भएको छोटो समयमै विकास निर्माणका साथै अरू धेरै काम भएका प्रसङ्ग पनि सो अवसरमा उनले उल्लेख गरिन्।

उनले भनिन्, “वर्तमान देउवा सरकार निर्माण हुँदा देश कोरोना महामारीमा थियो, नागरिकले पर्याप्त मात्रामा खोप पाउन सकेका थिएनन्। प्रधानमन्त्री जीले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राख्नुभयो र विदेशी दाताहरूसँग अनुरोध गर्नुका साथै खोप खरिद गरेरसमेत ल्याइ देशमा खोप उपलब्ध गराउनुभयो। यो सरकार निर्माण भएपछि धेरै पहिलेदेखि रोकिएर रहेका ठूला परियोजनादेखि लिएर विकास निर्माणका काम अघि बढेका छन्, वैदेशिक सम्बन्ध र सहायता मजबुद हुँदै गएको छ।”

नेतृ राणा आइतबार छठ पर्वका अवसरमा पूजा एवं दर्शन गर्न जनकपुरधाम गएकी हुन्। उनले आज दिउँसो जनकपुरधामस्थित गङ्गासागरमा छठ पर्वको व्रत एवं पूजाको अवलोकन गर्ने कार्यक्रम छ। सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने क्रममा नेतृ राणा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिको गृहगाउँ नगराइन नगरपालिका जाने कार्यक्रम रहेको कांग्रेस धनुषा क्षेत्र नं ३ का क्षेत्रीय सभापति धीरेन्द्र निधिले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर