गठबन्धनका कारण कञ्चनपुर-२ मा कांग्रेसका एनपी साउदलाई चुनाव जित्न सहज

कञ्चनपुर क्षेत्र नं. २ मा पुरानै अनुहारबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ। नेपाली कांग्रेसका नारायणप्रकाश (एनपी) साउद र नेकपा (एमाले)का नरबहादुर धामीबीच पुनः प्रतिस्पर्धा हुन लागेको हो। उनीहरूबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो।

अघिल्लो निर्वाचनमा विजय हासिल गरेका एमालेका धामीलाई यसपटक सत्ता गठबन्धनको सामना गर्नुपर्ने चुनौती छ भने धामीसँग अघिल्लोपल्ट पराजित भएका कांग्रेसका साउदलाई बदला लिने राम्रो मौका मंसिर ४ को प्रतिनिधि सभा निर्वाचन बनेको छ।

२०७४ को निर्वाचनमा एमाले र माओवादीबीच गठबन्धन रहेका कारण धामीलाई जित निकाल्न सहज भएको थियो। तर, यसपटक माओवादीसहित सत्ता गठबन्धनमा आबद्ध अरू दलको समेत समर्थन कांग्रेसका साउदलाई छ। जसका कारण उनलाई जित निकाल्न सहज हुने देखिन्छ।

गठबन्धन भएका कारण चुनावी प्रतिस्पर्धामा विजयी हुनेमा साउद ढुक्क छन्। उनले विकास निर्माणका कुरालाई चुनावी मुद्दाका रूपमा अघि सारेका छन्। सांसद नभएर उनले सो क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान गरेका छन्। उनले सिँचाइमन्त्री भएर काम गरिसकेका छन्।

“पाँच वर्षअघि मैले सुरु गरेका योजनासमेत पूरा हुन सकेका छैनन्”, उनले भने, “सांसद नभएर पनि तटबन्ध निर्माणका लागि१० करोडको योजना चालु आवमै ल्याएको छु।”

जनताले पत्याउने गरी काम गरिरहेको उनको भनाइ छ ।

विसं २०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुँदा धामी ३३ हजार दुई सय २० मत ल्याएर विजयी भएका थिए। उनका प्रतिस्पर्धी साउदले २४ हजार आठ सय ३९ मत ल्याएका थिए। विसं २०७० को दोस्रो संविधान सभा निर्वाचनमा साउदले धामीलाई पराजित गरेका थिए । यस निर्वाचन क्षेत्रमा तीनवटा नगरपालिकाका ३० वडा पर्दछन्।

स्थानीय तह निर्वाचनको परिणामलाई हेर्दा तीनवटै पालिकामा कांग्रेसले २२ हजार चार सय ९९, एमालेले १९ हजार दुई सय ९२, माओवादी केन्द्रले १३ हजार चार सय ७८, नेकपा (एकीकृत समाजवादी)ले चार हजार छ सय ६७, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन हजार सात सय ४६ मत ल्याएका थिए। सत्तारूढ गठबन्धन कांग्रेस, माओवादी, समाजवादीले ५२ हजार दुई सय १२ र एमाले सम्मिलित गठबन्धनले २१ हजार दुई सय ४२ मत ल्याएका थिए।

स्थानीय तहको मत परिणामलाई नियाल्दा केही मत तलमाथि भए पनि लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार सहज रूपमा विजयी हुने देखिन्छ।

निर्वाचन क्षेत्र नं २ मा एक लाख पाँच हजार पाँच सय ५७ मतदाता र एक सय १८ मतदान केन्द्र छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *