मिथ्या सूचनालाई निस्तेज पार्न आयोगलाई मिडियाको साथ चाहिन्छ : आयुक्त तुलाधर

निर्वाचन आयुक्त डा. जानकी तुलाधरले निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरेकी छन् । आचारसंहिता उल्लघङ्न गर्ने उमेदवारको उम्मेदवारीसमेत खारेजी हुनसक्ने भन्दै उनले आयोगले जारी गरेको आचारसंहिता पालना गर्न सबै राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरिन् ।

निर्वाचन आयोगले मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रममा आयुक्त डा. तुलाधरले आगामी मङ्सिर ४ गते हुने निर्वाचन दुईवटा कुरामा केन्द्रित रहेको बताइन् ।

डा. तुलाधारले भनिन्, “पहिलो त निर्वाचनलाई निष्पक्ष बनाउन निर्वाचन आचारसंहिता पालना गराउनु हो, अर्को मतदाता शिक्षालाई जोड दिएका छौँ ।” सञ्चारमाध्यमले गत स्थानीय तहको निर्वाचनमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उनले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पनि त्यतिकै भूमिकाको अपेक्षा गरिएको बताइन् ।
“सञ्चारमाध्यम भनेको महत्त्वपूर्ण कडी हो”, उनले भनिन्, “मतदाता शिक्षामा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण छ, निष्पक्ष निर्वाचन बनाउन आयोग र सञ्चारमाध्यमको सहकार्य पनि उत्तिकै आवश्यक छ ।” आयोगले अहिले मतदाता शिक्षालाई जोड दिएको भन्दै आयुक्त तुलाधरले मतदाता शिक्षा र आचारसंहिता पालना सबै सरोकारवालाको दायित्वभित्र पर्ने बताइन् । मिथ्या सूचनालाई निस्तेज पार्न मिडियाको साथ आयोगलाई चाहिएको उनको भनाइ छ ।

राससका महाप्रबन्धक सिद्धराज राईले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नको लागि मिडियाको महत्त्वपूर्ण भूमिका रहने बताए । उनले निर्वाचनको समयमा पत्रकारले आचारसंहिता उल्लङ्घनका विषय उजागर गर्नुका साथै पत्रकार स्वयंले पनि आचारसंहिता पालनामा ध्यान दिनुपर्ने बताए । उनले निर्वाचनका बेलामा उम्मेदवारका गतिविधि र मतदाता शिक्षालाई विशेष जोड दिएर अगाडि बढ्न पत्रकारलाई आग्रह गरे ।

मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले आचारसंहिता पालनाका विषयमा सबैलाई झक्झकाउन सञ्चारमाध्यमलाई आग्रह गरे । मिडियाले समेत तथ्यलाई तलमाथि पारेको हुनसक्ने भन्दै सूचना प्रवाह गर्दा तथ्यपरक हुनुपर्ने बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका निमित्त सचिव आनन्द सारुले राज्य सञ्चालन प्रणालीलाई बलियो बनाउनका लागि निर्वाचनले ठूलो महत्त्व राख्ने बताए ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सबै राजनीतिक दलले कर्तव्यबोध गरेर निर्वाचन आयोगद्वारा जारी भएको आचारसंहितालाई पूर्ण रूपमा कार्यान्वयन गरेको खण्डमा निर्वाचन सहज हुने बताए ।

कार्यक्रममा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले निर्वाचनको बेलामा मिथ्या सूचना, दुष्प्रचारलाई रोक्न पत्रकारले मुख्य भूमिका खेल्नुपर्ने औँल्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *