निर्वाचनका लागि ७२ घण्टा नेपाल–भारत सीमा बन्द रहने

नेपाल–भारतका गृह प्रशासन अधिकारीहरुको संयुक्त बैठकले निर्वाचन सुरक्षाका लागि ७२ घण्टा सीमामा आवतजावत रोक्ने सहमति गरेका छन् ।

भारत बिहार राज्यको रक्सौलमा मङ्गलबार बसेको दुवै देशका सीमावर्ती जिल्ला सुरक्षा निकायका प्रमुख र उच्च अधिकारीहरुको बैठकले आगामी निर्वाचनका लागि मङ्सिर २ देखि ४ गतेसम्म सीमा सिल गर्ने सहमति गरेको हो ।

नेपाल–भारत जिल्ला स्तरीय सीमा समन्वय समितिको बैठक (बीडीसीसी) बैठकमा निर्वाचन सुरक्षा मजबुत बनाउने विषयमा दुबै देशका गृह र सुरक्षा अधिकारीहरुबीच छलफल भएको हो ।

भारतको बिहारसँग जोडिएका नेपालका पर्सा, बारा, रौतहट, चितवन र नवलपरासी पूर्व र पश्चिमका सीमा ७२ घण्टाका लागि सिल गर्ने सहमति भएको हो। बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेृतृत्व नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे र भारतका तर्फबाट पूर्वी चम्पारण जिल्ला अधिकारी सिरसत कपिल अशोकले गरेका थिए।

जिल्लाका प्रमुख तथा सहायक जिल्ला अधिकारी तथा दुवै देशका सीमावर्ती जिल्लाका सुरक्षा निकायका प्रमुख र उच्च अधिकारीहरू बैठकमा सम्मिलित थिए ।

बैठकमा सूचना सम्प्रेषणलाई प्रभावकारी बनाउने, अन्तर सीमा अपराध नियन्त्रण , जाली नोट र लागूऔषधको ओसारपसार, तस्करी, अन्य गैरकानूनी गतिविधि तथा मदिरा तस्करी नियन्त्रण लगायतका विषयमा एकआपसमा सहयोग आदान प्रदान गर्ने विषयमा छलफल र समझदारी भएको छ ।

बैठकमा भारतका तर्फबाट बिहारको पूर्वी र पश्चिम चम्पारण जिल्लाका सुरक्षा प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *