लोकतन्त्र सुदृढीकरण, भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि गठबन्धनले जित्नुपर्छ : शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. शेखर कोइरालाले संविधानको रक्षा गर्न निर्वाचनमा गठबन्धनले जित्नुपर्ने बताएका छन् ।

विराटनगर महानगरपालिकाको जनपथ चोकमा बुधबार आयोजित कोणसभामा उनले लोकतन्त्र सुदृढीकरण गर्न, भ्रष्टाचार नियन्त्रण गर्न तथा मुलुकमा सुशासन कायम गर्न निर्वाचनमा गठबन्धनले सफलता हासिल गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।

शिक्षाबिना समाज र राष्ट्र सभ्य हुन नसक्ने भएकाले कांग्रेसले शिक्षालाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै डा. कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार बनेमा मुलुकमा विकास हुने र बेथिति हट्ने विचार राखे ।

‘कोखदेखि शोकसम्म’ कांग्रेसले योजना बनाई कार्यान्वयन गर्ने उल्लेख गर्दै उनले गरिबलाई शोकमा १० हजार रुपैयाँसम्म किरिया खर्च दिने उद्घोष गरे । कांग्रेसले सुत्केरी भत्तादेखि ज्येष्ठ नागरिकको उपचारलाई प्राथमिकता दिने उनले बताए ।

राष्ट्रिय सभाका सदस्य एवं नेकपा (माओवादी केन्द्र)का नेता गोपी अछामीले मुलुकमा विकास र समृद्धिको यात्रा पूरा गर्न गठबन्धनका उम्मेदवारले जित्नुपर्ने बताए ।

क्षेत्र नं ६ (ख) का उम्मेदवार केदार कार्कीले विराटनगरलाई संरचनासहितको राजधानी बनाउने भएकाले गठबन्धनले जित्नुपर्ने बताए । उनले विराटनगरको चक्रपथ व्यवस्थित गर्न कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै मतदाता र मतदाता शिक्षालाई व्यवस्थित गर्न कार्यकतालाई निर्देशन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *