सुशासन र समृद्धिका लागि गठबन्धनलाई जिताउनुस् : शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा. शेखर कोइरालाले मुलुकमा सुशासन कायम गरी समृद्ध नेपाल निर्माणका लागि गठबन्धन दललाई विजयी गराउन आग्रह गरेका छन् ।

विराटनगर महानगरपालिका–४ स्थित राजवंशी चोकमा बिहीबार आयोजित कोणसभामा उनले कांग्रेस भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न अत्यन्त गम्भीर रहेको र यसमा कुनै किसिमको शङ्का नगर्न आग्रह गरे । नेता कोइरालाले विराटनगरलाई व्यवस्थित शहर निर्माण गर्ने जिम्मा गठबन्धनले लिएको उल्लेख गरे ।

नगर भएर बग्ने दुई खोला केशलिया र सिंघियामा तटबन्ध निर्माण गरी व्यवस्थित र रमणीय बनाउनेतर्फ आफ्नो प्रयास रहने उनले बताए । केशलिया खोलामा सुनसरीको दुहवीदेखि विराटनगरको रानीसम्म सडक करिडोर निर्माण गर्न १४ अर्ब रुपैयाँको योजना अगाडि बढेको डा. कोइरालले सो अवसरमा जानकारी दिए । उनले लोकतन्त्रलाई सुदृढीकरण गर्न, संविधानको रक्षा गर्न र भ्रष्टाचार नियन्त्रणका लागिसमेत आगामी निर्वाचनमा गठबन्धन दलले जित्नुपर्ने आवश्यकता औँल्याए ।

राष्ट्रिय सभामा कांग्रेसका नेता रमेशजङ्ग रायमाझीले नगरलाई दोस्रो ठूलो शहरको रूपमा विकासमा गर्न गठबन्धन दलका उम्मेदवारको विजयी सुनिश्चित गराउन आग्रह गरे । राष्ट्रिय सभाका सदस्य एवं नेकपा माओवादी केन्द्रका नेता गोपी अछामीले मुलुकमा विकास र समृद्धिको यात्रा पूरा गर्न गठबन्धनका उम्मेदवारले जित्नुपर्ने बताए ।

मोरङ क्षेत्र नं ६ मा कांग्रेसबाट समानुपातिकतर्फका उम्मेदवार चुमनारायण तवदारले रोजगारी सिर्जनाका लागि उद्योगको स्थापना, प्राविधिक शिक्षा र बाढीबाट नगरको संरक्षणका लागि तटबन्ध निर्माण गर्न गठबन्धनको जित आवश्यक रहेको धारणा राखे ।

मोरङ क्षेत्र नं ६ ‘क’ मा माओवादी केन्द्रका उम्मेदवार जीवन आचार्यले शिक्षा, स्वास्थ्य, सुकुम्बासी समस्या समाधान र नगरको भौतिक पूर्वाधार निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *