क्यासिनो व्यवसायी सिंह र जयन्तीविरुद्ध करिब २८ करोड रुपैयाँको सम्पत्ति शुद्धीकरणको मुद्दा

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले क्यासिनो व्यवसायी सुरेन्द्रबहादुर सिंहविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता गरेको छ । विभिन्न समयमा उजुरी परेपछि अनुसन्धान गर्दा सिंहले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएपछि बुधबार अदालतमा मुद्दा दर्ता गरेको विभागले जनाएको छ ।

कञ्चनपुर चाँदनी–६ घर भई सुकेधारा बस्ने सिंहले काठमाडौं, नेपालगज र महेन्द्रद्रनगरमा क्यासिनो सञ्चालन गर्दै आएका छन् । उनले २७ करोड ६७ लाख ७८ हजार ६५६ रुपैयाँ गैरकानूनी रूपमा आर्जन गरेको र सोही रकम बराबर बिगो कायम गरी मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

सिंहविरुद्ध अवैध मुद्राको कारोबारसम्बन्धी कसूर, जुवासम्बन्धी कसूरमा समेत अदालतमा मुद्दा विचाराधीन रहेको विभागले जनाएको छ । विभागले उनका पत्नी र छोराको नाममा रहेको सम्पत्तिसमेत रोक्का गर्न माग गरेको छ ।

विभागका अनुसार सिंहले विदेशी मुद्राको अवैध कारोबार, जुवालगायत गैरकानूनी कारोबारबाट सम्पत्ति आर्जन गरेको पाइएको छ । त्यसरी आर्जन गरेको रकम उनले पत्नी शारदादेवी सिंह र छोरा जीवनबहादुर सिंहको नाममा राखेको विभागको अनुसन्धानमा देखिएको छ ।

विभागले सिंहको अवैध कारोबारमा सहयोग गरेको भन्दै जयन्ती थापा मगरलाई पनि प्रतिवादी बनाई मुद्दा दर्ता गरेको छ । मगरविरुद्ध सिंहको गिल्ट इन्भेष्टमेन्ट प्रालि २५ करोड रुपैयाँमा खरिद बिक्री गरेको कारोबारमा संलग्नता रहेको र कम्पनीको स्वामित्वसमेत धारण गरी सिंहलाई सम्पत्ति शुद्धीकरणको कसुर गर्न सहयोग गरेको आरोप छ ।

विभागकाे विज्ञप्ति :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *