चुनावी मैदानमा अर्बपति चौधरी : के गर्न सक्थे, के गरिरहेका छन् ?

निर्वाचन नजिकिँदै गर्दा नवलपरासी क्षेत्र नं. १ मा यतिबेला धेरैको ध्यान आकृष्ट भइरहेको छ । यहाँबाट चुनावी प्रतिस्पर्धामा छन्, राजनीतिका पुराना खेलाडी हृदयेश त्रिपाठी र उद्योगपति विनोद चौधरी । नेपालबाट धनाढ्यहरुको सूचीमा सूचीकृत अर्बपति (अमेरिकी डलरमा) चौधरी यसपटक सत्तारुढ गठबन्धनबाट प्रत्यक्षतर्फ चुनाव लड्दै छन् । सोही क्षेत्रबाट यसअघि निर्वाचन जितेका त्रिपाठीलाई भने उनकै पूर्व पार्टीलाई एमालेको समर्थन छ ।

चौधरी २०६४ सालको निर्वाचनमा एमालेबाट समानुपातिक सांसद भएका थिए । २०७४ को निर्वाचनअघि भने कांग्रेस प्रवेश गरे र फेरि समानुपातिक सांसद भए । अहिले कांग्रेस केन्द्रीय सदस्य समेत रहेका उनी सम्भवतः पहिलो उद्योगपति हुन्, जसले प्रत्यक्षबाट निर्वाचित हुने अभिलाषा राखे । र उनी आफ्नो क्षेत्रमा डटिरहेका छन् ।

उनै चौधरी अहिले जनताको घरदैलोमा पुगेर मत मागिरहेका छन् । कहिले मोटरसाइकलमा पछाडि बसेर चुनावी प्रचारमा गइरहेको त कहिले खेतबारीमा नै पुगेर मत मागिरहेका तस्बिरहरु सामाजिक सञ्जालमा देख्न पाइन्छ । सर्वसाधारणको आँगनमा खाना खाइरहेकोदेखि गाउँघरमा छलफल गरिरहेको दृश्य उनको चुनावी अभियानमा देखिएका छन् । उनको यस्तो क्रियाकलापलाई कतिपयले प्रशंसा गरिरहेका छन् भने कतिले ‘चुनावी स्टन्ट’ भन्दै आलोचना गरिरहेका छन् ।

सामान्य परिवारबाट उद्योग व्यवसायमा एउटा उचाइ प्राप्त गरेका चौधरीले अब कांग्रेसबाट राजनीति अघि बढाउन चाहेका छन् । त्यसैले नवलपरासी क्षेत्रमा उनले चौधरी ग्राम स्थापना गरी आफ्नो क्षेत्रमा प्रभाव विस्तार गरिरहेका छन् । तर, उनले हालसम्म मुलुकका लागि के योगदान दिए र निर्वाचित भएमा जनताले कस्तो लाभ पाउलान् भन्ने विषय चर्चायोग्य छ ।

व्यापारिक क्षेत्रमा सफलता हासिल गरे पनि चौधरी विवादमुक्त भने छैन । उनले देशभित्र भन्दा बाहिर लगानी बढाइरहेका छन् । देशबाहिर पूँजी पलायनको आरोप लागेका चौधरीको परिवारले नेपालको कानुन छलेर ट्याक्स हेभन मुलुकमा कम्पनी खोल्ने, त्यसैबाट नेपालमा विदेशी लगानी भित्र्याउने, लाभांश रकम लैजाने र विभिन्न मुलुकमा तहगत कम्पनी खडा गरी विश्वव्यापी व्यावसायिक सञ्जाल विस्तार गरेको आईसीआईजेको प्यान्डोरा लिक्सका विवरणले एक वर्षअघि खुलासा गरेको थियो ।

नेपालमै पनि सार्वजनिक जग्गामा कब्जा, नबिल बैंकमा छद्म लगानी जस्ता विवादमा पनि उनी पर्दै आएका छन् । नेपाल राष्ट्र बैंकले नबिल बैंकमा रहेको बांग्लादेशी कम्पनी एनबी इन्टरनेशनल र ‘ट्याक्स हेभन’ देशहरुमा रहेका त्यसको माउ कम्पनीको ‘विवादास्पद लगानी’ विरुद्ध छानबिनसमेत थालेको थियो । तर, जति विवादमा परे पनि उनीमाथि कुनै अनुसन्धानको प्रक्रिया भने अघि बढ्न सकेको छैन । सरकारी निकायहरुले चौधरीमाथि लागेका यस्ता आरोपहरुमा कुनै छानबिन प्रक्रिया अगाडि नै बढाएका छैनन् । यसले उनीमाथिका यस्ता आरोपमा सत्यता पनि छ कि आरोप मात्रै हो भन्ने पुष्टि हुन सकेको छैन ।

यसको अर्थ धनाढ्य हुँदैमा र विभिन्न आरोप लाग्दैमा उनले राजनीति गर्नै पाउँदैनन् भन्ने पनि होइन । न त मुलुकका लागि उनले केही गरेनन् भन्ने नै । मुलुकमा रोजगारी सृजनामा एउटा व्यवसायीको जति भूमिका हुन्छ, चौधरीको पनि त्यतिकै नै छ । तर, उम्मेदवारीसँगै चौधरीको दौडधूपले उनले अझै राजनीतिक विरासत हासिल गर्नेगरी काम गर्न सकेका छैनन् भन्ने अनुमान भने गर्न सकिन्छ ।

विभिन्न क्षेत्रमा लगानी गरेका चौधरीको व्यापार व्यवसाय विदेशमा बढ्दै गएको छ । तर, देशमै ठूलो संख्यामा रोजगारी सृजना हुने गरी मल्टिनेशनल कम्पनी भित्र्याउन, लगानीकर्तालाई नेपालमा आकर्षण गर्न वा युवाहरुलाई उद्यममा जोड्न उनले आफुलाई अघि सारेको बताइरहेका छन् । एउटा सफल उद्योगी भएकाले र डेढ दशकदेखि नेपाली राजनीतिमा सक्रिय भएकाले पनि उनीबाट यत्तिको अपेक्षा गर्न सकिन्छ । तर, जनताकेन्द्रित भन्दा पनि आफूकेन्द्रित राजनीतिमा उनी कतै रमाइरहेका त छैनन् ? राजनीतिक शक्ति आफ्नै स्वार्थमा त प्रयोग गरिरहेका छैनन् ? भन्ने आशंका जन्माएको छ ।

चौधरीमाथि आलोचना र अपेक्षा किन त ? किनकि उनी मुलुककै पुरानो र प्रमुख पार्टी कांग्रेसका उम्मेदवार हुन् । भोलि निर्वाचन जितेमा उनी संसद, सरकारमा कुनै पनि मुख्य पदमा पुग्न सक्छन् । अस्तव्यस्त र असफल अर्थतन्त्रलाई सफलताको बाटो देखाउने मार्गदर्शक बन्न सक्छन् । सफल उद्योगपति भएकाले कांग्रेसले पनि उनलाई त्यस्तो जिम्मेवारी दिन सक्छ । त्यसकारण पनि उनीमाथिका आरोपको यथोचित छानबिन, योजनाहरुमा बहस र चरित्रगत स्वच्छतामाथि प्रश्न आवश्यक परेको हो । उनले आजसम्म मुलुकको अर्थतन्त्रका लागि के गरे र भविष्यमा के गर्लान् भन्ने मन्थन चाहिएको हो ।

चौधरीकै शब्दमा भन्नुपर्दा उनले बाँकी जीवन फूलटाइम राजनीतिमै बिताउने अठोट गरिसकेका छन् । व्यापार व्यवसायमा एउटा उचाइ छोइसकेका उनले राजनीतिमा मार्न खोजेको छलाङ कत्तिको सफल हुन्छ ? यो राजनीतिक यात्रा उनलाई मात्र फलदायी साबित हुन्छ वा समग्र जनतालाई केही प्रभावित पर्नेछ ? यो त आगामी दिनमा थाहा नै हुनेछ । तर, उनीसामु अब ठूलो अवसर पनि आएको छ । त्यो हो प्रत्यक्ष चुनाव जितेर व्यवसायमा पाएको सफलताजस्तो मुलुकको अर्थतन्त्रलाई पनि एउटा उचाइ दिने ।

-तस्बिरहरू : विनाेद चाैधरीकाे फेसबुकबाट 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *