सुरक्षित मतदान र विश्वसिलो मतपरिणाम आयोगको लक्ष्य : प्रमुख निर्वाचन आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सुरक्षित मतदान, सुरक्षित मतगणना र विश्वसिलो मतपरिणामको लक्ष्यका साथ निर्वाचनको सम्पूर्ण तयारीमा जुटेको बताएका छन्।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा आजदेखि सुरु भएको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) को शुभारम्भ गर्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनको तयारीका क्रममा सामग्री र जनशक्ति व्यवस्थापन, सुरक्षा प्रबन्ध र अनुगमनको मिहिन विश्लेषण गरेर तत्काल सम्बोधन गर्नुपर्ने विषयमा संयन्त्र विकास गरिएको बताए।

उनले नवस्थापित केन्द्रले मतदान स्थलसम्म सिधै र नियमित सम्पर्क राख्नुपर्ने, खटिएका कर्मचारी सम्बन्धित स्थलमा पुगे/नपुगेको जानकारी लिने, वडास्तरमा जारी मतदाता शिक्षा सञ्चालनको अवस्था बुझ्ने, आचारसंहिता परिपालनामा आवश्यकताअनुसार सघाउने, जिल्लास्थित निर्वाचन कमाण्ड सेलसँग समन्वय बढाउने तथा मतदानपछि मतपेटिका र गणनाको सुरक्षालगायतका विषयमा आवश्यक समन्वय र सहयोग गर्नुपर्ने कार्यादेशबारे स्पष्ट पारे।

निर्वाचन सुरक्षा र अनुगमनसम्बन्धी निर्देशिकाबमोजिम आयोगका सचिवको नेतृत्वमा गृह मन्त्रालयका सहसचिव, चारवटै सुरक्षा निकायका राजपत्राङ्कित प्रथम श्रेणीसरहका प्रतिनिधित्वमा केन्द्रको स्थापना भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर