हामी मेसिन गन बोकेर मैदानमा छौं, कुनाबाट गुलेली नचलाउनुस् : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग तयार रहेको बताएका छन्।

बुधबार आयोगको कार्यालयमा युवाहरूसँग निर्वाचन आयोगको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनलाई शान्त वातावरणमा सम्पन्न गर्न युवाहरूको साथ आवश्यक रहेको बताए।

उनले आयोग निर्वाचन स्वतन्त्र, भयरहित, निष्पक्ष तरिकाबाट सम्पन्न गर्न निर्वाचनरूपी मेसिन गन बोकेर मैदानमा खटेको बताए। उनले आयोगको आग्रहलाई अवहेलना गरी निर्वाचन गतिविधि नबिथोल्न आग्रहसमेत गरे। उनले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायतका दलहरूप्रति इंगित गर्दै निर्वाचन बिथोल्नका लागि कुनाबाट अनावश्यक रूपमा गुलेली नचलाउन चेतावनी दिए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको महाअभियानमा अब सबै सरिक भई महासागरमा मिसिने खहरेहरूलाई पनि सँगै लैजान आवश्यक रहेको बताए। उनले निर्वाचनको विरोध गर्ने चन्द नेतृत्वका तीन राजनीतिक दलहरूप्रति लक्षित गर्दै खहरेहरू महासागरमा मिसिँदा केही धमिलो भए पनि मंसिर ४ पछि आफैँ संग्लिएर जाने बताए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि संसदीय समितिले १५ दिन अघिबाट नै मदिरा निषेध गर्नुपर्छ भने पनि आयोगले भने तीन दिनअघिबाट मात्रै मदिरा बिक्री वितरणलगायतको सम्पूर्ण कार्यहरू रोक्न आग्रह गरेको बताए। उनले यसमा युवाहरूले आयोगको आग्रहलाई आम नागरिकसमक्ष सचेत गराउनुपर्ने बताए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले हरेक निर्वाचनमा निर्वाचित हुनेको संख्याभन्दा पराजित हुनेको संख्या ठूलो हुने भन्दै युवाहरूले पराजित भएका उम्मेदवारहरूलाई पनि अंकमाल गरेर अघि बढ्नसक्ने वातावरण समाजमा निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले सामाजिक संघसंस्थाले मंसिर ४ गतेलाई मात्र नभई त्यसपछिको नतिजाको परिणामलाई पनि आत्मसात गरेर अघि बढ्नसक्ने वातावरणको सिर्जना गर्न जरुरी रहेको बताए। उनले निर्वाचनपछिको सामाजिक र राजनीतिक वातावरणलाई धमिलो हुन नदिन युवाहरूले भूमिका खेल्नुपर्ने बताए।

कार्यक्रममा युवाहरूले निरक्षर मतादाहरूमा मतदाता शिक्षा दिन आवश्यक रहेको धारणा राखे। त्यस्तै उनीहरूले निर्वाचन केन्द्र अपाङ्गतामैत्री, वृद्धवृद्धामैत्री बनाउन र निर्वाचन केन्द्रमा अशक्तहरूको लागि मतदान गर्ने छुट्टै व्यवस्थापन गर्न जोड दिए। उनीहरूले युवाहरूलाई मतदाता शिक्षा सञ्चालन गर्न दिए मत बदर हुने सम्भावना कम हुने बताए। युवाहरूले विद्युतीय मतदान प्रणालीमा जान अत्यावश्यक भइसकेको पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर