एपीएफ प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा

भाग्यमानी बन्दै अन्तिम चारमा स्थान बनाएको मधेस प्रदेशलाई स्तब्ध बनाउँदै विभागीय टोली एपीएफ क्लब काठमाडौंमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नजिक पुगेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा बिहीवार सम्पन्न खेलमा एपीएफले मधेस प्रदेशलाई ७ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

मधेसले दिएको १ सय २३ रनको लक्ष्य एपीएफले २१.३ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍याे । एपीएफको जितमा लोकेश बमले अविजित ३५ रनको पारी खेले । ओपनर प्रदीप ऐरीले ३३ रन जोड्दा आसिफ सेखले २५ रन बनाउँदै एपीएफलाई सुखद् शुरुवात गराएको थियो । सुमित महर्जनले १३ रन बनाउँदा सन्दीप जोरा ६ रनमा अविजित रहे । मधेसका रुपेश सिंहले २ तथा राजेश यादवले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेसले ३१ ओभरमा सबै विकेट गुमाएर १ सय २२ रन बनाएको थियो । मधेसका लागि रुपेश सिंहले सर्वाधिक ३५ रन जोडे । सन्तोष कार्कीले २० रन जोड्दा इमरान शेखले १६ रन बनाए । अनिल साहले १३, आदील आलमले ११ र राजेश यादवले १० रन बनाए । मधेसको इनिङलाई सस्तैमा रोक्ने क्रममा एपिएफका कमल ऐरीले ४ विकेट लिए । भुवन कार्की र मौषम ढकालले समान २/२ विकेट लिए ।

फाइनल प्रवेश गरेको एपीएफले अब उपाधिका लागि नेपाल पुलिस क्लव र त्रिभुवन आर्मी क्लवबीचको विजेतासँग खेल्नेछ । पुलिस र आर्मीबीचको दोस्रो सेमिफाइनल शुक्रबार हुनेछ । र, फाइनल खेल शनिबार हुने तालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *