सुनसरी २ मा ‘जनताका नेता’ सीताराम मेहता गठबन्धनकाे साथले निश्चिन्त

२०४९ सालको स्थानीय निर्वाचन हुँदै संसदीय राजनीतिमा आएका सीताराम मेहता ‘जनताका नेता’को रूपमा परिचित छन् । उनलाई मतदाताले नै खर्च जुटाएर चुनावमा उम्मेदवार उठाउउँथे अनि जिताउँथे पनि । नारा नै बनेको थियो– ‘जनताका नेता, सीताराम मेहता ।’

उनले २०७४ सम्मको निर्वाचन अभियान यसरी नै चलाए । उनी २०७० को दोस्रो संविधान सभा निर्वाचनमा सुनसरी–४ र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सुनसरी–२ बाट विजयी भए । २०७३ सालमा यातायात राज्यमन्त्री पनि भए ।

यसपटक पनि मेहता सुनसरी–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । नेपाली कांग्रेसका उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

मेहताले २०७४ को चुनावमा वाम गठबन्धनका उम्मेदवार डम्मरु सुवेदी (हिमाल) लाई ६ हजार १४६ मतले पराजित गरेका थिए । त्यो बेला मेहताले ४१ हजार ४९५ र सुवेदीले ३५ हजार ३४९ भोट पाएका थिए ।

गत स्थानीय चुनावमा सुनसरी–२ मा वडाअध्यक्षहरूले पाएको दलगत मतमा सत्ता गठबन्धन अगाडि रहेका कारण मेहतालाई जित निकाल्न सहज देखिएको छ।

उक्त निर्वाचनमा एमालेले ५० हजार ५२९ र नेपाली कांग्रेसले ४९ हजार ४७८ मत पाएका छन् । त्यस्तै विभाजित भइसकेको जनता समाजवादी पार्टी (जसपा)ले ८ हजार २१२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ५ हजार ७०५, नेकपा (माओवादी केन्द्र)ले ४ हजार ४०१ र नेकपा (एकीकृत समाजवादी)ले २ हजार ५६३ मत पाएका छन् । वडाअध्यक्षका स्वतन्त्र उम्मेदवारहरुले पाएको मत ४ हजार ५३९ छ ।

२०७४ मा एमाले–माओवादी केन्द्रका साझा उम्मेदवार डम्मरु सुवेदीलाई ६ हजार भन्दा बढी मत अन्तरले हराएका सीताराम मेहता यसपटक सत्ता गठबन्धनका उम्मेदवार छन् । उनीविरुद्ध संघीय मन्त्री र मुख्यमन्त्री भइसकेका एमालेका नेता भीम आचार्य चुनावी मैदानमा छन् ।

स्थानीय चुनावको अंकगणित हेर्दा मेहताका लागि जित सहज बन्ने देखिन्छ ।  आफ्ना मुख्य प्रतिस्पर्धी एमालेका आचार्यले मुख्यमन्त्री भएर पनि केही काम नगरेको र आफू जनतासँग भिजेको नेता भएकाले आफ्नो जित सुनिश्चित रहेको कांग्रेसका मेहताले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर