को बन्ला प्रदेश १ को मुख्यमन्त्री ? यी हुन् दाबेदार

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनाव नजिकिँदै गर्दा प्रदेशहरुमा अबको मुख्यमन्त्री को बन्ला भन्ने चासो बढ्दै गएको छ । हरेक प्रदेशमा प्रमुख दलहरुका मुख्य उम्मेदवारले आफू मुख्यमन्त्रीको दाबेदार रहेको जनाउँदै मत माग्न थालेका छन् ।

केन्द्रमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमोर्चा पार्टीको गठबन्धन रहेकाले चुनावपछि प्रदेशमा पनि यिनै दलको गठबन्धनका उम्मेदवार मुख्यमन्त्री बन्ने सम्भावना धेरै छ । यिनै दलका गठबन्धनका उम्मेदवार अहिले चुनावी मोर्चामा रहेको र गठबन्धनले धेरै क्षेत्रमा जित्ने अनुमान भइरहँदा मुख्यमन्त्री पनि गठबन्धनबाटै बन्ने सम्भावना धेरै देखिएको हो ।

प्रदेश १ मा पनि सत्ता गठबन्धन र एमालेका प्रदेशसभा उम्मेदवारमध्ये केहीले आफूलाई भावी मुख्यमन्त्रीको रुपमा उभ्याउँदै मत माग्दै आएका छन् । गठबन्धनमा धेरै दल भएकाले त्यहाँ मुख्यमन्त्रीका दाबेदार पनि धेरै नै छन् ।

सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवारहरु अहिलेका आन्तरिक मामिला मन्त्री केदार कार्की, अमृत अर्याल, राजीव कोइराला तथा गुरुराज घिमिरेको नाम चर्चामा छ । अर्याल मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको दाबेदार भए पनि पछि मोरङ ५ को २ बाट प्रदेश सभा उम्मेदवार बने । कांग्रेस सभापति शेरबहादुर देउवाको आश्वासनपछि उनी प्रतिनिधिसभाको दाबीबाट पछि हटेका थिए ।

मोरङ ४ को १ मा कांग्रेसबाट उम्मेदवार बनेका घिमिरे पनि चुनाव जिते मुख्यमन्त्री बन्ने लाइनमा छन् । कोइराला सुनसरी क्षेत्र नम्बर २ (२) बाट पुनः प्रदेशसभा सदस्यको उम्मेदवार छन् । पहिला चुनाव जितेर आउनुपर्‍याे, पार्टीले सरकार बनाउने अवस्था आयो भने मुख्यमन्त्रीको उम्मेदवार म हो,’ उनले भने । उनी शेखर कोइराला खेमाका नेता हुन् ।

मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले पनि पुनः मुख्यमन्त्री बन्न इच्छा राखेका छन् । तत्कालीन नेकपामा विभाजन आएपछि राईले गत वर्षको कात्तिकमा मुख्यमन्त्री अवसर पाएका थिए । उनी यसअघि भोजपुरबाट प्रदेशसभामा निर्वाचित भएका थिए । यसपटक पनि उनी भोजपुरको १ बाट प्रदेशसभामा उठेका छन् ।

गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्रका नेता तथा आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो मुख्यमन्त्रीका अर्का उम्मेदवार हुन् । उनी पाँचथरबाट चुनावी प्रतिस्पर्धामा छन् ।

यसअघि प्रदेश १ का पूर्व दुई मुख्यमन्त्री शेरधन राई र भीम आचार्य प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेपछि एमालेबाट प्रदेशमै दोहोरिएका दुई पूर्व मन्त्री मुख्यमन्त्रीको आकांक्षी छन् । एमालेबाट मुख्यमन्त्रीका लागि पूर्वआन्तरिक मामिला मन्त्री हिक्मत कार्कीको नाम चर्चामा छ । झापा क्षेत्र नम्बर ५ को २ बाट उम्मेदवार बनेका उनी एमालेको स्थायी कमिटी सदस्य पनि हुन् ।

शेरधन राई नेतृत्वको सरकारमा उनी आन्तरिक मामिला तथा कानुन मन्त्री थिए । ‘पार्टीबाट औपचारिक निर्णय भएको छैन तर मुख्यमन्त्रीको स्वाभाविक उम्मेदवार म हो,’ उनले भने । एमालेमै उनका मुख्यमन्त्रीका प्रतिस्पर्धी छन्, जीवन घिमिरे । उनी मोरङ क्षेत्र नम्बर ४ को २ बाट प्रदेशसभा उम्मेदवार छन् । ‘अहिले त चुनाव जित्ने प्रमुख विषय हो, भोलि प्रक्रियामा गएपछि दाबी रहन्छ,’ उनले भने ।

प्रदेश १ को प्रदेश सभामा ९३ जना निर्वाचित भएर जाँदै छन् । यसअघि अन्तिम समयमा प्रदेशसभामा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी)का १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ प्रदेश सांसद थिए । प्रमुख प्रतिपक्षी दल एमालेका ३९ र राप्रपाका १ जना प्रदेश सांसद थिए ।

पछिल्लो ५ वर्षमा शेरधन राई, भीम आचार्य र राजेन्द्र राई गरेर तीन मुख्यमन्त्री बने पनि प्रदेशको नामकरण भने हुन सकेन । प्रदेशसभाले विराटनगरलाई प्रदेशको स्थायी राजधानी भने कायम गर्‍याे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *