निर्वाचन सुरक्षा स्थिति बुझ्न पृतना, बाहिनी अड्डा, गण र गुल्म नियाल्दै प्रधानसेनापति

प्रधानसेनापति प्रभुराम शर्मा नेपाली सेनाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गरिरहेको तयारीबारे बुझ्न पृतना र बाहिनी अड्डाको निरीक्षण भ्रमण गरिरहेका छन्।

मतदानको मिति नजिकिएसँगै प्रधानसेनापति शर्मा विभिन्न जिल्ला पुगेर निर्वाचन सुरक्षाको वस्तुस्थिति बुझ्ने र सकलदर्जालाई निर्देशन दिने कार्यमा व्यस्त छन्।

यसैबीच प्रधानसेनापति शर्माले सोमबार मकवानपुरको हेटौंडास्थित मध्य पृतना हेडक्वार्टर, सिन्धुलीको माझीटारस्थित नं. ९ बाहिनी अड्डा र सुनसरीको इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरको निरीक्षण गरेका छन्।

त्यस क्रममा उनले पृतना हेडक्वार्टर तथा बाहिनी अड्डा तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी इलाका, प्रदेशहरूसँगको समन्वयका साथै आमनिर्वाचनको एकीकृत सुरक्षा योजनाका बारेमा जानकारी लिएका छन्। यस्तै उनले पृतना हेडक्वार्टर तथा बाहिनी अड्डाका सकलदर्जालाई सम्बोधन गर्दै नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त निर्वाचन सुरक्षासम्बन्धी जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्न निर्देशन दिएका छन्।

निरीक्षण भ्रमणमा रक्षा मन्त्रालयका सहसचिव प्रकाश पौडेल पनि सहभागी थिए।

प्रधानसेनापति शर्माले मंगलबार मोरङको थलाहास्थित भैरव गण, उदयपुरको भुल्केस्थित नं. १८ बाहिनी अड्डा र काभ्रेपलाञ्चोकको भकुण्डेबेँसीस्थित नं. २६ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नेछन्। यस्तै आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ को सुरक्षार्थ नेपाली सेनाद्वारा काभ्रेपलाञ्चोकको महाभारत इलाकामा स्थापित प्लाटून अपरेटिङ बेस (पीओबी) को निरीक्षण भ्रमण गर्नेछन्।

यसअघि कात्तिक १७ गते नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसमेतको सहभागितामा प्रधानसेनापति शर्माले महोत्तरीको बर्दिबासस्थित मध्यपूर्वी पृतना हेडक्वार्टर र बाराको जितपुरस्थित नं. २८ बाहिनी अड्डाको निरीक्षण गरेका थिए।

हेर्नुस् निरीक्षण भ्रमणका तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर