आमनिर्वाचन-२०७९

मधेसमा अबको मुख्यमन्त्री को ?

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि कुनै पनि दलले प्रदेशका लागि आफ्ना मुख्यमन्त्रीको दाबेदार उम्मेदवार तय गरेका छैनन् । तर, केही उम्मेदवारले आफूलाई प्रदेशको भावी मुख्यमन्त्रीको दाबी गर्दै मत माग्दै आएका छन् ।

सातै प्रदेशमध्ये सबैभन्दा मुख्यमन्त्री अनिश्चित रहेको प्रदेश हो, मधेस । अधिकांश सीमा भारतसँग जोडिएको यो प्रदेशमा अरु प्रदेशमा जस्तो २ वा ३ वटा दल प्रमुख हुने सम्भावना छैन । यहाँ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एस, जनमत पार्टी जस्ता दलहरु सबै बलियो रहेकाले निर्वाचनपछिको अंकगणितले कसको नेतृत्वमा सरकार बन्नेछ भन्ने तय हुनेछ ।

पछिल्लो ५ वर्षमा केन्द्रको समीकरण फेरबदलले प्रदेशमा पनि नेतृत्व हेरफेर भयो । तर, मधेसमा भने त्यसको असर परेन । जसपाबाट मुख्यमन्त्री भएका लालबाबु राउतले ५ वर्ष नै प्रदेशको नेतृत्व सम्हाल्ने मौका पाए । मन्त्रीहरु भने पटकपटक हेरफेर भए । तिनै राउत पुनः मुख्यमन्त्रीको दाबेदारी प्रस्तुत गर्दै यसपटक पनि प्रदेश सभाको चुनावी मैदानमा छन् ।

राउत पर्सा–१ (२) बाट चुनाव लड्दै छन् । उनी २०७४ सालको निर्वाचनबाट पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । तत्कालीन संघीय समाजवादी पार्टी, नेपालबाट निर्वाचित भएका राउत राजपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनलाई फेरि प्रदेश सभा सदस्यको उम्मेदवार बनाएपछि मुख्यमन्त्रीका रुपमा हेरिएको छ ।

जसपाबाट मुख्यमन्त्रीका अन्य आकांक्षीमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादव र अर्थमन्त्री शैलेन्द्र साह छन् । जसपाबाटै प्रदेशको सभामुख बनेका सरोजकुमार यादव पनि मुख्यमन्त्रीको दौडमा छन् । उनी लोसपाबाट जसपामा प्रवेश गरी बारा–१ (२) बाट उम्मेदवार छन् ।

जसपाका पार्टी प्रवक्ता मनीष सुमन पनि पार्टी अध्यक्ष उपेन्द्र यादवको निकट रहेकाले उनको पनि दाबेदारी रहेनछन् । मधेसमा एमाले र जसपाबीच गठबन्धन रहेको छ ।

सत्ता गठबन्धनतर्फ कांग्रेस र लोसपाका उम्मेदवारले मुख्यमन्त्रीको दाबी गरेका छन् । कांग्रेस नेता विमलेन्द्र निधिको निकट रहेका रामसरोज यादव धनुषा–३ (१) बाट उम्मेदवार छन् । उनी हाल प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री पनि हुन् । कांग्रेसबाट रामसरोजसँगै कांग्रेसको मधेस प्रदेश सभापति कृष्ण यादवको पनि दाबेदारी रहनेछ । उनी रौतहट–१ (१) बाट उम्मेदवार छन् ।

लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनल पनि मुख्ममन्त्रीका दाबेदार हुन् । उनी बारा–४ (२) बाट उम्मेदवार छन् । जसपाले एमालेसँग तालमेल गरेपछि सत्तारुढ गठबन्धनसँग तालमेल गरेको लोसपाले सोनलाई मुख्यमन्त्रीको दाबेदारको रुपमा अघि बढाएको हो ।

एमालेबाट मुख्यमन्त्रीको दाबेदार रामचन्द्र मण्डल छन् । उनी धनुुषा २ (२) बाट उम्मेदवार छ । जनाधर कम भएकाले माओवादी केन्द्र, नेकपा एस, जनमत पार्टीबाट मुख्यमन्त्री बन्ने सम्भावना निकै कम छ । तर, सरकार गठनमा भने यी दलको भूमिका महत्वपूर्ण हुनेछ ।

मधेस प्रदेशमा प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी १०७ सिटका लागि चुनाव हुँदै छ । प्रतिनिधि सभासँगै प्रदेश सभामा पनि सत्तारुढ पाँच दलीय गठबन्धन र नेकपा (एमाले) को नेतृत्वमा रहेको विपक्षी गठबन्धन चुनावी प्रतिस्पर्धामा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *